काठमाडौं । नेकपा एमालेको आगामी कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडामा अधिवेशन हुदैछ । यसै गरी कात्तिक ९ गते ७५३ स्थानीय तहमा पनि अधिवेशन हुँदैछ ।
ललितपुरको गोदाबरीमा रहेको सुर्योदय सम्मेलन केन्द्रका तीन दिनसम्म भएको विधान अधिवेशनले पारित गरेको सागठनिक संरचनाको पारित प्रस्ताव अनुसार वडा र स्थानीय तह मा चुनिने पदाधिकारी तथा सदस्यहरुको टुङ्गो लागेको छ ।
नयाँ संरचना अनुसार वडा र स्थानीय तहका पदाधिकारी ५ जना रहने र जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपसचिव निर्वाचित हुनेछन् । त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको बढीमा ३१ सदस्यीय रहने छन् भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने व्यवस्था बिधानमा गरिएको छ ।
यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुने व्यवस्था बिधानले गरेको भने उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने छ I
पदाधिकारी
अध्यक्ष -१, उपाध्यक्ष-१, सचिव- १ र उपसचिव -२
वडा कमिटीमा निर्धारित सदस्य संख्या –
गाउँपालिका/नगरपालिका-३१
उपमहानगरपालिका-४१
महानगरपालिका -५१
पालिका कमिटीकाे निर्धारित सदस्य संख्या-
गाउँ/ नगरपालिका – ७५
उपमहानगरपालिका – ८५
महानगरपालिका – १०१
विधान सम्मेलनमा पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले पार्टीको संगठनात्मक संरचनाको नयाँ स्वरुप बारेको प्रस्ताव पेश गर्नुभएको थियो ।
एमालेले प्रविधिको प्रयोग गर्दै वडा र स्थानीय तहका अधिकतम अधिवेशन स्थललाई जुममा जोडेर अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी गरेको छ ।











