१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मीको आराधना गरी मनाइयो कोजाग्रत पूर्णिमा



अ+ अ-

काठमाडाैंः

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको काम पनि मङ्गलबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । मङ्गलबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्षअर्थात् दसैँपर्व आमनेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाको  सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । महालक्ष्मीसँगै मङ्गलबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा मङ्गलबार परे पनि पूर्णिमा व्रत भने आज रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै सुरु हुने समितिले जनाएको छ । वैदिक सनातन धर्ममा कात्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कात्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसी भैलोलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।
 

कोजाग्रत पूर्णिमाः  कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो ।

विसं २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।

बिरुवा गाउँपालिका बिदा

वालिङ, स्याङ्जाको बिरुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बिरुवा –७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रुपमा मनाउनका लागि आज सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिनुभयो । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।

“गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रुपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रुपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौँ ।”

पञ्चवली पर्वलाई स्थानीय पर्वका रुपमा लिँइदै आइएको छ । हाल एकादशी र औँसीका दिनमा बाहेक दिनहुँ पूजाआजा गर्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले बताउनुभयो ।

“धार्मिकरुपमा निक्कै प्रसिद्धी कमाएको यस मन्दिरमा बिरुवा, हरिनास गाउँपालिकासहित वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिकालगायत तनहुँ, पाल्पा, नवलपरासीबाट पनि दर्शनार्थी आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । मन्दिरका नाममा भाकल तथा बलि दिने गर्नाले मनोकामना पूरा भएको विश्वास गरिन्छ ।