२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा हिउँदे ओलम्पिकको तयारी शुरु, नेपालको सहभागिता अनिश्चित



अ+ अ-

ग्रीसको अथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बुधबार बेइजिङमा प्रज्ज्वलन गरिएको छ । चीनको राजधानी बेइजिङले सन् २०२२ को हिउँदे ओलम्पिक खेल आयोजना गर्दैछ ।

आगामी फेब्रुअरीमा हुने यस प्रतियोगिता आयोजना गर्ने बेइजिङ शहरले हिउँदे र गृष्मकालीन दुबै ओलम्पिक आयोजनाका रेकर्ड राख्दैछ । यसअघि कुनै पनि शहरले यस्तो अनुपम अवसर पाएका थिएनन् ।

हिउँदे ओलम्पिक खेल आगामी फेब्रुअरी ४ देखि २० सम्म हुँदैछ । कोभिड महामारीलाई ध्यानमा राखेर यस प्रतियोगितामा विदेशी दर्शकलाई भने प्रवेश दिइने छैन ।

नेसनल स्टेडियम नजिक आयोजित टर्च स्वागत समारोहमा बेइजिङ कम्युनिष्ट पार्टीका प्रमुख काई क्वीले चीनमा ओलम्पिक टर्च आइपुगेको संकेत स्वरुप टर्च बाल्नु भएको थियो । यही नेसनल स्टेडियम सन् २००८ को गृष्मकालीन ओलम्पिकको समयमा चराको गुँड आकारमा बनाइएको थियो ।

अथेन्सबाट गत अक्टोबर १९ मा ओलम्पिक टर्च चीनका लागि प्रस्थान गरेको थियो । टर्चलाई एउटा रातो लाल्टिन आकारमा डिजाइन गरेर राखिएको थियो । रातो लाल्टिनले चीनको हान वंशको प्रतिनिधित्व गरेको ठानिन्छ । सेतो पहिरन लगाएका व्यक्तिले टर्च बोकेका थिए ।

चीनले बुधबारदेखि नै बेइजिङको ओलम्पिक पार्कमा ओलम्पिकको ज्योतिलाई प्रदर्शनमा राख्नेछ । आगामी फेब्रुअरीको शुरुमा टर्च बोक्ने १ हजार २०० व्यक्तिले यसलाई बेइजिङ र झाङजियाकाउ शहर तथा यानक्विङ जिल्लामा प्रदर्शन गर्नेछन् । यी तीन शहरमा हिउँदे ओलम्पिक खेल हुँदैछ ।

बेइजिङका उपमेयर झाङ जियानदोङले कोभिड–१९ फैलिने सम्भावनालाई ध्यानमा राखेर टर्चको रिले मार्गहरुलाई घटाइएको जानकारी दिनुभएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यस प्रतियाेगितामा ४६ वटा स्पर्धा हुनेछन् भने महिला खेलाडीकाे संख्या ४५.२ प्रतिशत हुने चिनियाँ ओलम्पिक कमिटीले जनाएकाे छ ।

गत अक्टोबर १८ मा अथेन्सबाट  आयोजित समारोहमा चीन विरोधी प्रदर्शन भएकोप्रति ग्रीसको ओलम्पिक कमिटीले अथेन्स समारोहलाई राजनीतिक उद्देश्यका लागि प्रयोग भएकामा दुःख व्यक्त गरेको छ ।

नेपालको सहभागिता के हुँदैछ ?

नेपालले सामान्यतया हिउँदे ओलम्पिकमा भाग लिने गरेको छैन । नेपालमा हिउँमा खेलिने खेलका लागि आवश्यक पूर्वाधार, सीप र तालिमको अभाव छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालका केही खेलाडीले अल्पाइन जिएस र एसएल इभेन्टमा तयारी गरिरहेको जानकारी दिनुभयो । तर युरोपका विभिन्न मुलुकमा हुने खेलहरुमा छनौट भई नम्बर जोड्न सके मात्र नेपालको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।

श्री श्रेष्ठले युरोपेली प्रतियोगिताको नतिजाले मात्र नेपालको सहभागिता हुने वा नहुने जानकारी दिनुभयो ।

नेपालले यसअघि चार पटक हिउँदे ओलम्पिक खेलमा सहभागिता जनाएको रेकर्ड छ । सन् १९२४ को हिउँदे ओलम्पिकका अवसरमा सन् १९२२ को ब्रिटिस सगरमाथाको आरोहण दलबाट सगरमाथा आरोहण गरेबापत तेजबिर बुढालाई ओलम्पिक स्वर्ण पदक दिइएको थियो ।

नेपालले सन् २००२, २००६, २०१० र २०१४ का हिउँदे ओलम्पिकमा सहभागिता जनाएको देखिन्छ ।

सन् २००२ मा जय खड्काले क्रस कन्ट्री स्की मा सहभागिता जनाएका थिए । सन् २००६, २०१० र २०१४ मा गरी तीन पटक नेपालको प्रतिनिधित्व गर्दै दाछिरी शेर्पाले १५ किलोमिटरको क्रस कन्ट्री स्की मा भाग लिएका थिए ।

तर आगामी हिउँदे ओलम्पिकमा नेपालबाट क कसको सहभागिता रहन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।