१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक सञ्चालनमा



अ+ अ-

खोटाङ । लगातारको वर्षाका कारण ठाउँठाउँमा झरेको पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक खण्डको यातायात सेवा सञ्चालनमा आएको छ । गत असोज–३१ देखि कात्तिक–२ गतेसम्म लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–काठमाडौँ सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर नियमित यातायात सेवा सञ्चालनमा ल्याइएको हो । 

मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा झरेको पहिरो पन्छाइएपछि काठमाडौँबाट खोटाङसँगै ओखलढुङ्गा र सोलुखुम्बु आवत–जावत गर्ने सवारी साधनसमेत निर्वाधरुपमा गुड्न थालेको यातायात व्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँको सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारी साधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी देखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । साँघुरो तथा छोटो दूरीमा घुम्ती भएका कारण वर्षा याममा बढीमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताउनुभयो । “पहिरो खसेको ठाउँमा ट्र्याक खोलियो तर अझै पनि जोखिम छ । सडक पूर्णरुपमा क्लियर गरिएको छैन”, उहाँले भन्नुभयो, “सडक चौडा नहुनु र नजिक–नजिक मोड भएका कारण पहिरोले बढी क्षति पु¥याएको हो । छोटो मोडमा माथिबाट पहिरो खस्दा तल्लो मोड पनि बिगारेको छ ।” 

वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा यात्रु तथा मालबाहक सवारी साधन सडकमै अलपत्र परेका थिए । 

पटक–पटक पहिरो खस्ने हैवारमा यस पटक पहिरो खस्दा खोटाङसहित ओखलढुङ्गा र सोलुखुम्बुका यात्रु बीच सडकमै थुनिएका थिए । हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनिएपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गर्न बाध्य बनेका थिए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि घुमाउरो बाटो प्रयोग गर्दा कम्तीमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन् । कदुवामा कात्तिक–३ गते झरेको पहिरो पन्छाइए पनि पुनःखसेपछि बिहीबार दिनभर पन्छाएर बेलुकाबाट सडक सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । 

भारी वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्णअवरुद्ध बनेको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका सबै ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा नआउँदा दसैँ मानेर शहर फर्कने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ । 

अवरुद्ध ग्रामीण सडक पुनःमर्मत गरेर सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्ड पनि लगातारको वर्षाका कारण अवरुद्ध भएको महासचिव हिङ्माङले बताउनुभयो ।

हिउँदको समयमा जिल्लाका दश वटै स्थानीय तहमा यातायात सञ्चालन भएपनि अहिले दिक्तेल–काठमाडौँ र दिक्तेल–इटहरी–विराटनगर सडक खण्डमा मात्र सवारी साधन सञ्चालनमा रहेको छ । सगरमाथा राजमार्ग अन्तरगत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।रासस