१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेटः अस्ट्रेलियाको विजयी शुरुआत



अ+ अ-

अस्ट्रेलियाले टी२० विश्वकप क्रिकेटमा विजयी शुरुआत गरेको छ । अबुधाबीमा भएको खेलमा अस्ट्रेलियाले चिरप्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको अस्ट्रेलियाले राम्रो बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११८ रनमै रोकेको थियो । अस्ट्रेलियाली बलरहरुले कसिलो बलिङ गरेका कारण अफ्रिकाले ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सकेको थियो ।

अफ्रिकाका लागि एडेन मारकरमले सर्वाधिक ४० रन बनाएका थिए । अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।

जितका लागि ११९ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र स्टिभन स्मिथ तथा म्याथ्यु वेड र मार्कस स्टोइनिसबीच भएका दुई साझेदारीले लक्ष पछ्याउन सहज भएको थियो ।

अस्ट्रेलियाका लागि स्टिभन स्मिथले ३५, मार्कस स्टोइनसले अविजित २४, म्याथ्यु वेडले अविजित १५ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाले पनि अस्ट्रेलिया विरुद्ध राम्रो बलिङ र क्षेत्र रक्षण गरेर अस्ट्रेलियामाथि दबाब बनाएको थियो तर अन्तिम जोडी स्टोइनिस र वेडले खेललाई आफ्नो पक्षमा पारेका थिए ।

आजै साँझ वेस्ट इन्डिज र इङल्यान्ड बीच खेल हुँदैछ । टस जितेर इङल्यान्डले वेस्ट इन्डिजलाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । दुई ओभरको खेलमा वेस्ट इन्डिजले २ विकेट गुमाएर ९ रन मात्र जोड्न सकेको छ । क्रिजमा अहिले क्रिस गेल खेलिरहेका छन् । एजेन्सी