काठमाण्डौ । गरेको नेकपा एमाले पालिका अधिवेशन दुई चरणमा हुने भएको छ । शनिबार ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको एमालेले पर्सि हुने पालिका अधिवेशन दुई चरणमा गर्ने भएको हो ।
एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने बताएका छन् । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुने भएपनि अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उनले बताए ।
यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ । रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ । अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।