१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा सैन्य कु, प्रधानमन्त्री सहित केही मन्त्रीहरु सैन्य नियन्त्रणमा



अ+ अ-

खार्तुमः सुडानका प्रधानमन्त्री अब्दल्ला हम्डकलाई सेनाले अपदस्थ गरेको छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ ।

सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पद त्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको बताएका छन् ।
सन् २०१९ को अगष्टदेखि तानाशाह ओमार अल बशिरको सरकार पतन भएपछि नागरिक र सेनाको संयुक्त संक्रमणकालीन सरकार क्रियाशील थियो ।

अहिले सुडानभर इन्टरनेट सेवा अबरुद्ध गरिएको छ भने राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् । सेनाले गरेको विद्रोहको विरोधमा राजधानी खार्तुमका सडकमा नागरिकहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ । एपी