१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा २१६ मुद्दाको पेशी, श्रीमानहरु ईजलास बाहिर, मुद्दाका पक्ष विपक्षी रमिते



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा आजका लागि तोकिएका मुद्दाका पेशीहरु सर्वोच्चकै न्यायाधीशहरुको अनुपस्थितिमा बेन्चहरु नबसेका कारण सबै स्थगित भएका छन् । सर्वोच्च अदालत प्रशासनले वेबसाइटमा राखेको विवरणमा आजका लागि कूल २१६ वटा मुद्दा पेशीमा राखिए पनि कुनै पनि इजलासमा सुनुवाई हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा वा अन्य विकल्प बारेमा छलफलमा सर्वोच्चकै न्यायाधीशहरु केन्द्रित भएपछि मुद्दाको सुनुवाई प्रभावित बनेको हो । न्यायाधीशहरु दीपककुमार कार्की र सुस्मालता माथेमाको संयुक्त इजलासमा ३५ वटा, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा ५५ वटा, विश्वम्भरप्रसाद श्रेष्ठ र हरि प्रसाद फुयालको बेन्चमा २८ वटा, वमकुमार श्रेष्ठ र कुमार रेग्मीको बेन्चमा २७ वटा, डा आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको इजलासमा २० वटा, टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा १३ वटा, प्रकाश कुमार ढुंगाना र डा कुमार चुडालको इजलासमा १३ तथा नहकुल सुवेदीको इजलासमा २५ वटा मुद्दा पेशीमा राखिएका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले सार्वजनिक गरेको विवरणमा आज कुनै पनि बेन्च नबसेको जनाएको छ । आजका बेन्चहरुमा बन्दी प्रत्यक्षीकरण, बैंकिङ कसुर, कर्तव्य ज्यान, मानव बेचबिखन र ओसारपसार, लागू औषध, जबर्जस्ती करणी, उत्प्रेषण आदेश, भ्रष्टाचार समेतका मुद्दाहरुको सुनुवाई हुने कार्यतालिका थियो ।