टोक्योः जापानको हिरोशिमामा अमेरिकाले गरेको आणविक बमबाट बाँच्न सफल सुनाओ चुबोईको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्ला वर्षहरुमा आणविक निशस्त्रीकरण अभियन्ताको भूमिका निर्वाह गरिरहेका चुबोईले हिरोशिमा भ्रमणमा आएका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेका थिए ।
संयुक्तराज्य अमेरिकाले हिरोशिमामा सन् १९४५ मा पहिलो आणविक प्रहार गर्दा उनी इन्जिनियरिङ स्कुल जाँदै थिए । तर बम आक्रमणबाट सुन्दर शहर हिरोशिमा क्षणभरमै आगोको रापमा परिणत भएको थियो ।
सन् २०१६ मा एएफपीसँग कुरा गर्दै चुबोईले भनेका थिए, “मेरो शरीरको अधिकांश भाग जलेको थियो । नाङ्गै, अगष्ट ६ को त्यस त्रासदीपूर्ण घटना भएको दिन सुरक्षित स्थानको खोजीका लागि म झण्डै तीन घण्टा दौडिएँ, तर त्यसपछि म हिँड्न सकिनँ ।”
त्यतिबेला २० वर्षका चुबोईले एउटा सानो ढुंगा टिपेर भुइँमा “चुबोई यहीँ मर्छ” भनेर लेखेका थिए । त्यसपछि उनी बेहोस भए र त्यसको धेरै हप्तापछि बल्ल उनको होस खुलेको थियो ।
जोखिमपूर्ण त्यस आणविक विकिरण झेलेका उनमा क्यान्सर र अरु रोगहरु देखा परेका थिए, तर त्यसपछि उनी आजीवन आणविक निरस्त्रीकरणका अभियन्ता भइरहे । विश्वबाटै आणविक अस्त्र शून्य बनाउनुपर्छ भन्ने उनले एक अभियानको नेतृत्व गरे ।
उनले भनेका थिए, “मानवमा खुशीका लागि म जस्तोसुकै कठिनाई सहन तयार छु । म भोलि मर्छु नै तर म आशावादी छु । म कहिल्यै हार मान्दिनँ ।”
सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामा हिरोशिमाको भ्रमणमा जाँदा चुबोई समेत अरु पीडितहरुले पनि भेटघाट गरेका थिए । त्यतिबेला चुबोईले हँसिलो मुद्रामा कुरा गर्दै आणविक शून्य विश्व बनाउने बारेमा ओबामालाई सुनाएका थिए ।
तर यही शनिबार रक्तअल्पताका कारण चुबोईको निधन भएको थियो ।
अमेरिकाले सन् १९४५ मा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेको थियो जसबाट झण्डै एक लाख २७ हजार ७५५ जना बाँच्न सफल भएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको औसत आयु ८४ वर्ष छ ।
हिरोशिमामा मात्र बम आक्रमणबाट एक लाख ४० हजार मानिसको ज्यान गएको थियो । नागासाकीमा भएको अर्को आक्रमणमा ७४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।