शारजाहः यस पटककाे विश्वकप टी२० क्रिकेट प्रतियोगितामा शानदार खेल प्रदर्शन गरिरहेकाे इङ्ल्यान्डले शनिबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले सहजै पराजित गरेको छ ।
यो जितसँगै इङल्यान्डले तीन खेलबाट ६ अंक बनाएको छ र समूहमा पहिलो स्थानमा छ ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको सामान्य लक्ष्य इङल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । इङल्यान्डका लागि जेसन रोयले २२, जस बटलरले अविजित ७१, डेविड मालानले ८ तथा जोनी बेयरस्टले अविजित १६ रन बनाएका थिए । जस बटलरले पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएर पूरै टिम १२५ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए ।
डेभिड वार्नर १, स्टिभन स्मिथ १, ग्लेन म्याक्सवेल ६, मार्कस स्टोइनिस ०, एडम जाम्पा १ रनमा आउट भएका थिए । यस्तै म्याथ्यु वेडले १८, एस्टोन एगरले २०, प्याट कमिन्सले १२, मिचेल स्टार्कले १३ रन बनाएका थिए ।
५१ रन बनाउँदा अस्ट्रेलियाका ५ प्रमुख ब्याट्सम्यान आउट भइसकेकाले पनि अस्ट्रेलिया दबाबमा परेको थियो ।
इङल्यान्डका बलरहरु अदिल रसिदले १, क्रिस वोक्सले २, क्रिस जोर्डनले ३, लियाम लिभिङस्टोनले १ तथा टिमाल मिल्सले २ विकेट लिएका थिए ।
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | ३ | ६ | अफगानिस्तान | २ | २ |
अस्ट्रेलिया | ३ | ४ | पाकिस्तान | ३ | ६ |
दक्षिण अफ्रिका | ३ | ४ | भारत | १ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | १ | ० |
श्रीलंका | ३ | २ | स्कटल्यान्ड | २ | ० |
बंगलादेश | ३ | ० | नामिबिया | १ | २ |