१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई सहयोग



अ+ अ-

डोटी । गएको आसोज ३१ गतेपछिको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका जिल्लाको सायल गाउँपालिकामा रहेका पीडितहरुलाई मङ्गलबार सरकारी राहत रकम वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई उक्त राहत रकम प्रदान गर्नुभएको हो । बाढीपहिरामा ज्यान गुमाएका प्रतिपरिवार रु दुई लाखका दरले सरकारद्वारा प्रदान गरिएको राहत रकम पीडितकै घरमा गएर हस्तान्तरण गरेको प्रजिअ विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढी पहिरामा परी अकालमै ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने सरकारी निर्णयअनुसारको रकम आज मैले सम्बन्धित पीडितकै घरमा गएर हस्तान्तरण गरेको छु, जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण कार्य जारी छ ।” 

जिल्ला प्रशासन कार्यालयका अनुसार सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्मा गाउँका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका आफन्तलाई नेपाल सरकारका तर्फबाट रु दुई लाखका दरले र वडा नं ६ अम्ततोडा गाउँका मृतक आशीष कुञ्जेडा र सागर कुञ्जेडाका बुबा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख नगद राहत हस्तान्तरण गरिएको हो । 

गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, उपाध्यक्ष विष्ना सिंह, प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, विपद् प्रभावित परिवारका सदस्य र अन्य सर्वसाधारणको उपस्थितिमा उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

यसैगरी  नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका तर्फबाट पीडितका लागि खाना पकाउने भाँडाकुँडा, कम्बल तथा कपडा प्रदान गरिएको थियो । उता जिल्लाको शिखर नगरपालिका–११ की मृतक मन्धरी बलायरका आफन्त, बोगटान गाउँपालिका–५ बस्ने मृतक चनरी नेपालीका पति इन्द्र नेपालीलाई समेत सरकारी राहत रकमको चेक हस्तान्तरण गर्नुभएको छ । जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । रासस