काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा साकार पार्ने अभियानमा बाधा खडा गरिएको बताउनु भएको छ । तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा सुभकामना सन्देश जारुी गर्दे एमाले अध्यक्ष ओलीले राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत सबैमा आह्वान गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले जारी गर्नुभएको शुभकामना सन्देश
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ ।
यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी÷भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।
सरकारको नेतृत्वमा रहंदा नेकपा (एमाले)ले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।
अन्त्यमा, तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु











