१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तामा भारतीय एसएसबीको अनधिकृत प्रवेश



अ+ अ-

परासी, काठमाडौं — अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले नेपाली भूमिमा प्रवेश गरेर जमिन नापजाँच गर्नुका साथै आकाशमा ड्रोन उडाएको घटनामा नेपाली पक्षले गरेको ध्यानाकर्षणलाई भारतीय प्रशासनले बेवास्ता गरेको छ ।

एसएसबीको फौज बिनाअनुमति नेपाली भूमि प्रवेश गरेको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय प्रशासनले भारतीय समकक्षी निकायको ध्यानाकर्षण गराउने प्रयास गर्दा भारतीय पक्ष सम्पर्कमै आउन चाहेन । सोमबार स्थलगत निरीक्षणमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको सुरक्षा टोली सुस्तापारि सीमा इलाकामा तैनाथ भारतीय सुरक्षाकर्मीमार्फत एसएसबीको घुसपैठबारे मौखिक ध्यानाकर्षण गराएर फर्किएको हो ।

प्रजिअ मिश्रले एसएसबीबाट नेपाली भूमिमा भएको अनधिकृत प्रवेशबारे भारतीय समकक्षी पश्चिम चम्पारण (बेतिया) का डिस्ट्रिक मजिस्ट्रेट (जिल्लाधिकारी) कुन्दन कुमारसँग आइतबारै सम्पर्क गर्ने प्रयास गरेका थिए । तर, उनले नेपाली प्रशासनसँग कुनै कुरा गर्न चाहेनन् । निरीक्षणका क्रममा प्रजिअ मिश्रले पुनः जिल्लाधिकारी कुमारसँग नेपाली भूमिमा एसएसबी प्रवेश गरेको विषयमा ध्यानाकर्षण जनाउन सम्पर्क प्रयास गरे । कुमारले फोन नउठाएपछि मिश्रसहितको नेपाली टोली एसएसबीका सुरक्षाकर्मीलाई ध्यानाकर्षण गराएर फर्किएको हो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको एक नम्बर बाँध (ठोक्कर) नजिकैबाट नेपाली भूमि प्रवेश गरी आइतबार एसएसबीको फौजले अनधिकृत रूपमा आकाशमा ड्रोन उडाउनुका साथै जमिन फित्ताले नापेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले घटनाको सत्यतथ्य पेस गर्न जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई निर्देशन दिएको थियो ।

‘भारतीय सुरक्षाकर्मी बिनाअनुमति नेपाल पसेको पाइयो, त्यसक्रममा नेपाली जमिन नापजाँच पनि गरेका रहेछन्,’ प्रजिअ मिश्रले कान्तिपुरसँग भने, ‘यस घटनाबारे समकक्षीलाई ध्यानाकर्षण गराउन चाहेका थियौं तर सम्पर्क हुन सकेको छैन, सीमा क्षेत्रमै रहेका भारतीय सुरक्षा संयन्त्रमार्फत बिनाअनुमति नेपाल प्रवेश नगर्न र यस्ता गतिविधि नगर्न भनेका छौं ।’ तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय भूमिले घेरिएको सुस्तामा सोमबार प्रजिअ मिश्रसहित जिल्लास्थित सुरक्षा प्रमुखहरू भारतीय बाटो हुँदै पसेका थिए ।

ड्रोन उडाउन एसएसबीका करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश

नेपाली प्रशासनले समकक्षीसँग सम्पर्क प्रयास गर्दा कुनै ‘रेस्पोन्स’ नगर्नुले भारतीय हेपाहा प्रवृत्ति कुन रूपमा देखिएको छ भन्नेबारे स्पष्ट पारेको सीमा क्षेत्रमै खटिएका एक सुरक्षा अधिकारीले बताए । प्रजिअ मिश्रले सुस्ताको नेपाली भूमिमा प्रवेश गरेर एसएसबीका जवानले जमिन नापजाँच गरेको पुष्टि भएको जानकारी दिए । यस विषयमा जिल्ला सुरक्षा समितिको बैठक डाकेर छलफल गर्न लागिएको र चम्पारणका जिल्लाधिकारीसँग सम्पर्क प्रयास पनि जारी रहेको प्रजिअ मिश्रले बताए ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भारतीय सुरक्षाकर्मी बिनाअनुमति नेपाली भूमि प्रवेश गरेर नापजाँच गरेको भन्दै यस्ता गतिविधि दोहोरिन नदिन बेलैमा आवश्यक कदम चाल्नुपर्ने बताए । जिल्ला प्रशासनले आइतबारको घटनापछि सुस्ता क्षेत्रको सीमा इलाकामा नेपाल प्रहरी र सशस्त्रको गस्ती बाक्लो बनाएको छ ।

गृह मन्त्रालयले पनि सीमा इलाकामा सुरक्षाकर्मीको उपस्थिति बढाउन निर्देशन दिइसकेको जनाएको छ । ‘एसएसबीका सुरक्षाकर्मी बिनाअनुमति नेपाली भूभागमा प्रवेश गरेका थिए, जुन अन्तर्राष्ट्रिय कानुनविपरीत हो, यसले भारतीयको हेपाहा प्रवृत्ति कस्तो छ भन्ने देखाउँछ,’ उनले भने, ‘एसएसबीबाट केही न केही बहानामा दुःख दिने काम भइरहेको छ, यो विषयलाई कूटनीतिक सम्बन्धबाटै समाधान गर्नुपर्छ, सुस्तामा सीमा विवाद समाधान नगरेसम्म हामीले यसैगरी दुःख पाइरहन्छौं ।’

औषधिमूलोदेखि खाद्यान्न र कामका लागि सुस्तावासी दैनिकजसो भारतीय बजारमा जानुपर्ने बाध्यता छ । भारतीय पनि काम र व्यवसायका लागि नेपाल आउँछन् तर बेलाबेला एसएसबी र भारतीय नागरिकले सुस्तावासीलाई सास्ती दिइरहन्छन् । यसअघि पटकपटक सुस्तावासीले भारतीयबाट पिटाइ खाने, लुटिने, पिटिने र अनाहकमा मुद्दा नै खेप्ने गरेका कैयौं घटना छन् ।

पछिल्लो पटक सुस्तामा प्रहरी र सशस्त्रको उपस्थिति केही बढेपछि भारतीयबाट हुने ज्यादतीका घटनामा कमी आएको छ । नारायणी नदीपारि रहेको सुस्तामा अहिले सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा बोर्डर आउट पोस्ट (बीओपी) र नेपाल प्रहरीका नायब निरीक्षक ९सई० को कमान्डमा सीमा सुरक्षा चौकी छ । तर, दुवै सुरक्षा युनिटले एसएसबीका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेर नापजाँच गर्दा र आकाशमा ड्रोन उडाउँदासम्म पत्तै पाएनन् ।

नवलपरासीमा नेपाल–भारत सीमा छुट्याउने १६ वटा स्तम्भ छन् तर सुस्ताको २४ किलोमिटर सीमा क्षेत्रमा न सीमा स्तम्भ छ न स्तम्भ राख्न ठोस पहल नै भएको छ । सुस्तालाई नेपाल र भारतले विवादित क्षेत्र मान्दै कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा सहमति जनाए पनि अहिलेसम्म यस विषयमा वार्ता हुन सकेको छैन ।

बारम्बार उही समस्या

कहिले तेस्रो देशका नागरिक भारतीय बाटो हुँदै बिनाअनुमति अन्तर्राष्ट्रिय सीमा पार गरेर सहजै नेपाल भित्रिने त कहिले एसएसबीले सीमा स्तम्भ नै उखेलेर नेपालतर्फ सार्ने गरेका घटना सीमावर्ती इलाकामा दोहोरिरहन्छन् । तर, यस्ता घटना हुन नदिन, सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम र नियन्त्रण गर्न नेपाली पक्षले बलियो उपस्थिति जनाउन सकेको छैन ।

भारतको चम्पारण जिल्लाअन्तर्गत खटिएका एसएसबीको फौज आइतबार गुपचुप नेपाली भूमिमा छिरेर जमिन नापजाँच र आकाशमा ड्रोन उडाउँदासम्म सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा खटिएका प्रहरी र सशस्त्रका संयन्त्रले पत्तै पाएनन् । स्थानीयको सूचनापछि मात्रै एसएसबी नेपाली भूमि प्रवेश गरेको घटना बाहिर आएको थियो । यस घटनाले पनि सीमा क्षेत्रमा सरकारले सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको स्पष्ट पार्छ ।

गृह मन्त्रालयले भारत र चीनतर्फ सीमा सुरक्षा गर्नकै लागि सशस्त्र प्रहरीका २ सय २७ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिसकेको छ । त्यसमध्ये भारततर्फ मात्रै २ सय २० बीओपीबाट सशस्त्र प्रहरी तैनाथ छन् । त्यस्तै सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्न चीन र भारततर्फ प्रहरीका ६६ चौकी छन् । सीमा अपराध रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन भन्दै प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा रहेका सीमा चौकीलाई स्तरोन्नति गरेर गृह मन्त्रालयले निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा राख्न गत वर्ष नै स्वीकृति दिइसकेको छ । (कान्तिपुर दैनिकमा समाचार छ)