१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रौँ राष्ट्रिय जनगणनाको तयारी पूरा, भोली (बिहीबार)देखि सुरु हुँदै (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो ।

जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उहाँले बताउनुभयो । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरु मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २÷२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने उहाँले बताउनुभयो ।

तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानि, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेशन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ति क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ति विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुँयालले संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताउनुभयो । सबै तहमा चाहिने खण्डिकृत विवरणहरु जनगणनाबाट आउने बताउनुभयो । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सबै तहमा चाहिने खण्डिकृत डेटाहरु जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजनाहरु तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रुपमा अहिलेको जनगणनालाई लिएका छौँ । यो धेरै महत्वपूर्ण छ । यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि दुरगामी प्रभाव पार्छ ।’

काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतीमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ ।  साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना संकलन गरिने भएको छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।