काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा सत्ता साझेदार दलले गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत रहेका घिमिरे पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । अध्यक्ष पदका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेललाई पनि दाबेदार मानिएका थियो ।
बारको महासचिव पदका लागि अङ्किता खनाललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ ।
यसैगरी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) का तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र महासचिवमा केदार कोइरालाले उम्मेदवारी दिने तय भएको छ । उम्मेदवारी दर्ताको समय आज ३ बजेसम्मका लागि तोकेको छ ।
नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने अधिवेशनका लागि सत्ता साझेदार दलमध्ये तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मोर्चाबन्दी गरेर उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस निकट मानिएका कानून व्यवसायीलाई अध्यक्ष, माओवादी केन्द्र निकटलाई महासचिव र एकीकृत समाजवादी निकट कानून व्यवसायीलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिनेगरी सहमति भएको बुझिएको छ