१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसला जनताको बीचमा पेश गरिने’



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गर्नु भएको छ ।

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गर्नु भएको हो । उहाँले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरुले बिकृति, बिसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने बताउनुभयो । उहाँले न्यायालयमा बिकृति र बिसंगति भइरहेको भन्दै कानून व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाउनु भयो । अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । 

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हाम्रो यो हप्ताको कार्यक्रम अन्तर्गत, जो दलहरु अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ, के न्यायपालिका राज्यको अंग होइन ? राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो ? हामीले किन राजीनामा मागिरहेका छौँ भन्ने कुरा आज हामी प्रतिनिधिसभामा संसदमा सहभागी भएका राजनीतिक दल र संसदीय दलहरुमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौँ, २ बजे आज कार्यक्रम छ, त्यसपछि राजीनामा किन मागेका छौँ भन्ने कुरा डिटेल्समा तपाईहरुको बीचमा राख्नेछौँ, अर्को विनम्र अनुरोध गर्दछु, उहाँले गर्नुभएका कर्तुत, विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरु छ, जसले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ, ती फैसलाहरु नेपाल बार एशोसिएशनले संकलन, अध्ययन गरिरहेको छ, तपाईहरुसँग भएको, तपाईहरुलाई अन्याय परेको, तपाईहरुसँग अत्यन्त पैसा लिएको फैसलाहरु बारमा दिनुहुनको लागि विनम्र अनुरोध गर्दछु । ’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५-१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गर्नुभयो ।