मुक्ति खनाल-
चुनावको मिति घोषणा हुँदै रोकिदै गरेकाले यो पटक पनि रोकिने हो कि भनेर आशंका गर्नु अस्वाभाविक थिएन । अब आशंका हटदै गएका छन् । सँधै सबैको चित्त बुझ्छ भन्न सकिन्न । धेरैको चित्त बुझ्ने सम्म हुनुप¥यो, भएको छ । यो भन्दा अनुकूल वातावरण पाउन सकिन्न । अब चुनाव हुनेभयो, रोकिन्न ।
ठूला पार्टीहरु चुनावकै पक्षमा थिए र छन् । उपेन्द्र यादवको पार्टी र मोर्चाले चुनावमा सहमति गरेर चारदलीय संयन्त्रमा सामेल भएको पनि केही समय भइसक्यो । भर्खरै यही भदौ २१ मा अशोक राईको पार्टीले सहमति ग¥यो र चुनावमा जाने निर्णय ग¥यो । अब अहिले सम्म निर्णय लिन बाँकि वैद्यमाओवादी सहितको तेत्तिसदलीय मोर्चा छ । यादव र राईको निर्णयले यो मोर्चामा दवाव सिर्जना गरेको हुनुपर्छ । मोर्चा र वैद्यमाओवादीमा चुनावमा जाने र नजाने बीच चर्को विवाद छ भन्ने सुनिन्छ । परिस्थिति यसरी अगाडि वढिरहेछ कि अब कोही पछाडि फर्कनसक्ने अवस्थामा छैनन् । चुनावमा जाने निर्णय नगर्ने हो भने तेत्तिसदलीय मोर्चा र वैद्यमाओवादीमा विभाजन समेत हुनसक्ने चर्चा छ र सम्भावना छ । अब चुनावमा जानेहरु नभएर चुनावमा नजान खोजेकाहरु धर्मसंकटमा छन् ।
चुनावमा नजानेहरुका माग पच्चीससूत्रीय सम्झौता, चार दलको सिण्डिकेट र रेग्मीसरकारको खराजी रहेका छन् । चुनाव सार्ने र सरकार परिवर्तन गर्ने वाहेकका सबै मागमा छलफल गर्न सकिन्छ र आवश्यक परे सम्झौतामा जान सकिन्छ भनिसकिएको छ । उपेन्द्र यादव समावेस भइसकेपछि चारदलीय सिण्डकेट त हैनरहेछ भन्ने प्रमाणित भयो । अरु पनि चाहँदा त्यसमा वस्न सक्छन् । पच्चीस सूत्र र राष्ट्रपतिको वाधा अडकाउ फुकाउने आदेश यादव र राईका माग सम्बोधन गर्दा परिवर्तन हुनेवाला नै छन् । अब वैद्यमाओवादी सहित तेत्तिस दलका माग संकुचनमा परेका छन् ।
तेत्तिस दल नामाकरण गरिएको मोर्चामा सबै दल एकैनासका छैनन् । हिजो युद्धबाट आएको पृष्ठभूमि भएका कारण त्यहाँको सबैभन्दा ठूलो र सशक्त पार्टी वैद्यमाओवादी नै हो । अरु धेरै जनतामा प्रभाव भएका पार्टी छैनन् । कुनै नाम मात्रका छन् भने कुनै पार्टी भन्दा क्लब जस्ता छन् । त्यहाँको निर्णायक शक्ति भनेको वैद्यमाओवादी नै हो । यसले लिने निर्णयले नै त्यहाँ निर्णायक भूमिका खेल्छ ।
यसले लिएको कार्यदिशा र यसले तत्काल लिएका मागले नै यसलाई सबल वा कमजोर बनाउँछ , बनाउँदै लैजान्छ । यो पार्टीको अस्पष्ट कार्यदिशा अहिलेका उसका मागमा प्रतिविम्बित हुन्छन् । यसले क्रान्ति गर्ने भनेर पार्टी फुटायो, कस्तो क्रान्ति सो खुलेर भन्न समेत नसक्ने अनि गर्न सक्ने कुरै आएन । सो नसकेपछि अर्को मोड लिन पनि नसक्ने देखिएको छ । उसले पार्टीफुटको औचित्य सावित गर्न सकेको छैन । अहिले संविधानसभाको चुनाव उसको लागि निल्नु न ओकल्नु भएको छ । अन्तिम अवस्था आइसक्यो न ऊ ढुक्कले भाग नलिने भन्न सक्छ न भागलिनेमा साहस देखाउँछ । उसको पोखरा भेलाको निर्णय नवदल्दासम्म चुनावमा जान सहज देखिन्न । न सो निर्णय वदल्ने साहस गर्छ न पूर्ण पालना गर्ने । निर्णय एकातर्फ वार्ता अर्कोतर्फ, काम एकातर्फ परिस्थिति अर्कोतफ यस्तो अवस्थामा वैद्यमाओवादी पुगेको छ । स्वयं अन्योलमा रहेको वैद्यमाओवादीको मोर्चाको चाल अँधेरोमा पाहिला चाले जस्तो भएको छ ।
गत संविधानसभाले संविधान बनाउन सकेन । यसमा धेरथोर सबै नेता र पार्टी हैसियत अनुसारका दोषभागी छन् । यो दोषको हिस्सा वैद्यमाओवादीमा पनि पर्छ । तर यसलाई सो पार्टीले अहिलेसम्म स्वीकारेको छैन र दोष अरुलाई मात्र दिन्छ । संविधान बनाउन नसके पछि अर्को चुनाव गरेर संविधान बनाउन खोजिएको छ । पहिलो पटक यो देशमा जनताले संविधान बनाउन पाएको अधिकारको प्रयोग भइरहेको छ र अहिले सम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रयत्न भइरहेछ । तर यसका नेता संविधान संविधानसभाले मात्र बनाउँछ भन्ने हुँदैन भनेर वेलावेला भन्ने पनि गर्छन् । हो आफैले मात्र जिते जे जसो गरेर संविधान बनाए पनि होला तर यहाँ सबैको नभए पनि धेरैको सहमतिमा संविधान बनाउनपर्ने भएकोले संविधानसभा नै संविधान बनाउने उत्तम विकल्प हो । उनिहरुको यो आफ्नो पनि नारा हो, यो पूरा गर्नुपर्ने उनीहरुको पनि दायित्व हो । यसबाट भाग्ने र चुनाव विथोल्न खोज्नाले माओवादले जनतामा गरेको वाचा पूरा नगरेको ठहर्छ । अहिलेको सरकार वाध्यात्मक विकल्प हो । चुनावको लागि अर्को सरकार गठन गर्ने उपाय शून्य भएपछि मात्रै यो सरकार गठनमा पुग्नुपरेको तथ्य जगजाहेर छ । चाँडो चुनाव गरेर यो सरकारलाई विदाइ गर्नुपर्नेमा वैद्यमाओवादीको चालले त सरकारको आयु झन लम्बिन पुग्छ ।
अरुले त विरोध गरे रे , तर आफैले निर्णय गरेर बनाएको आफ्नै पार्टीको भट्टराई सरकारको पनि विरोध गरे । पार्टी फुटाएपछि वैधानिक सरकारको विरोध अरुले भन्दा चर्को स्वरमा गरे । कसैलाई मनाउन पनि नसक्ने, आफु पनि गर्न नसक्ने अनि सबैले आफ्नो निर्णय मान्नुपर्छ भन्ने बालहठ वैद्यमाओवादीले देखाइरहेछ । अहिले अरुले स्वीकार गरेको कुरा मान्न नसक्ने र आफुले अर्को विकल्प पनि दिन नसक्ने अन्योलमा वैद्यमाओवादी फसेको छ । क्षण प्रतिक्षण समय घर्किदोछ , तैपनि अझै थोरै समय बाँकी छ , सम्हालिएर निर्वाचनमा आउन सकिन्छ । यो समय घर्कियो भने वैद्यमाओवादीले एतिहासिक गल्ति गर्नेछ । सक्रिय वहिस्कार भनेको छन् , केही ठाउँमा गडवड गर्न सके पनि समग्र चुनाव विथोल्न सक्ने ताकत अब वैद्यमाओवादीमा देखिन्न ।
अहिलेको वहिस्कारको नारालाई सत्य सावित गर्न हिजो पञ्चायतकालमा गरेको वहिस्कारको सहारा लिएको पनि देखिन्छ । निर्दलीय पञ्चायती व्यवस्था र अहिलेको अवस्थालाई समान देख्ने दृष्टिदोष पनि वैद्यमाओवादीमा पाइन्छ । जब एउटा गल्ति हुन्छ त्यसलाई सत्य सावित गर्नखोज्दा अन्य कयौं गल्तिको सहारा लिनुपर्ने हुन्छ । चुनाव हुनमा वाधा हाल्ने शक्तिको यस प्रकारको गलत चालको कारण पनि भन्न सकिन्छ , अब चुनाव हुन्छ ।
सानै छ भने पनि सत्य बोकेर हिंडेको शक्ति ठूलो हुन सक्छ , त्यसको लागि पनि समय लाग्छ । वैद्यमाओवादीको बाटो एकछिन सत्य हो भनेर स्वीकार्ने हो भने पनि अहिल्यै सो शक्ति चुनाव विथोल्न सक्ने तागतमा पुगेको छैन, उसले चुनाव हुनसक्दैन भन्दैमा चुनाव विथोलिन सक्दैन ।
यही भदौ २२ गते सरकारले वोलाएको सर्वदलीय वैठकमा वैद्यमाओवादी गएन, अरु गएर सो पार्टीलाई चुनावमा आउन अनुरोध गरे र एक स्वरले मुङसिर ४ मा चुनाव हुनुपर्छ भने । भदौ २३ को विहानको रेडियोको छलफल कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसालले चुनाव बारे छलफल हुने भएकोले नगएको भनिन् । सोही कार्यक्रममा उनले यो निर्दलीय सरकारले गराउने चुनावमा जान नसकिने, विदेशीको इशारामा हुन लागेको र चुनावले सिक्किमीकरण हुने भएकोले चुनावको वहिस्कार गर्ने भनेको सुन्दा चुनावमा आउने सम्भावना कम देखिन्छ ।
अहिले माओवादी फुटेको वेला देखेर साइजमा ल्याउन सकिन्छ भनेर होस वा अन्य विकल्प तत्काल नदेखेर होस छिमेकी भारत चीन लगायत अन्य शक्ति राष्ट्रहरु मुङसिर ४ को निर्वाचनको पक्षमा छन् । भर्खरै माओवादी सचिव नेत्रविक्रम चन्दले चीनको भ्रमण गरेर फर्केका छन् । फर्केपछि पूर्वको एक कार्यक्रममा गएर चुनावमा जाँदा प्रचण्ड सँग एकता गरेर जाने पनि भने । उनको आशय चुनावमा भाग लिने हो भने एक भएर गए भयो अलग वस्ने हो भने अलग कार्यक्रम हुनुप¥यो भन्ने थियो । यसैले अन्तिम समय सम्म पनि प्रत्यक्ष वा अप्रत्यक्ष चुनावमा आउने सम्भावना नकार्न सकिन्न । भाग लिए त विवाद सकिइहाल्यो, भाग नलिए पनि चुनाव रोकिने अवस्था देखिन्न ।
पाकिस्तानमा पनि पार्टीहरु चुनावी सरकार बनाउन मिल्न नसकेपछि पूर्वन्यायाधीशको अध्यक्षतामा बनेको सरकारले चुनाव सम्पन्न गरिसकेको छ । त्यहाँ पनि तालिवानीहरुले चुनाव विथोल्न खोजेका थिए र तीनजना उमेदवारको हत्या समेत गरेका थिए र पनि चुनाव सम्पन्न भयो । अहिले ठूलो पार्टी बनेको नवाजशरिफको नेतृत्वमा सरकार गठन भइसकेको छ । यहाँ पनि भक्तपुरमा सम्पन्न राता टिसर्टधारी चन्दका युवाहरुले एके ४७ ल्याइन्छ उमेदवारलाई ठोकिन्छ भन्ने नारा लाए । पश्चिम पुगेर स्वयं चन्दले पनि आफुहरु सँग हतियार रहेको र चुनावमा प्रयोग हुनसक्छ भनेर बोलेको भनी प्रचारमा आयो । वहिस्कार मात्र त कसैको अधिकार भित्र मान्न सकिएला, वैद्यमाओवादीले बल प्रयोग ग¥यो भने सरकार चुप लागेर वस्न मिल्ने छैन । माओवादीको यो चुनावमा भाग लिने वा नलिने निर्णयले चुनाव सहज वा असहज होला चुनाव रोक्न मिल्ने देखिन्न ।
यो चुनाव धेरै विषयको फैसलाको रुपमा आउँदैछ । दुवै माओवादीको कार्यनीतिक नाराको यसले परीक्षण गर्नेछ । पूँजीपति वर्ग सँग श्रमिक वर्गको लडाइँ कुन तहमा पुगेको छ यसले मापन गर्नेछ र भावी कार्यदिशा तय गर्न मद्दत पुग्नेछ । गत संविधानसभाका कमजोरी हटाउँदै नयाँ सम्विधान निर्माण गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने त प्रारम्भिक कर्तव्य नै भयो साथमा अहिले सम्मको अन्योललाई धेरै हदसम्म चिर्नेछ र देश गन्तव्य पक्डन तर्फ उन्मुख हुनेछ । यस प्रकारको चुनाव भएकोले यसको महत्व ऐतिहासिक छ । ठूला पार्टीहरु वहुमतको कुरा गर्दै चुनावमा होमिइ सकेका छन् , कसको के स्थिति हो यसले निर्धारण गरिदिनेछ । यो चुनाव वहिस्कार गर्नेले जनताबाट वहिस्कृत हुनुपर्ने हुनसक्छ । अब सवैथोक चुनावमा गएर वसेको देखिएको छ । चुनावको अर्को भरपर्दो विकल्प पनि छैन । प्रक्रिया अगि वढिसकेको छ , अब चुनाव रोकिन्न, चुनाव भएरै छोडने छ ।
२०७० । ०५ । २४ ÷ कलंकी
© 2023