२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्लुङमा गर्भावस्था, प्रसूति समय, सुत्केरी अवस्थाका लागि मोबाइल प्रविधिको प्रयोग



अ+ अ-

बाग्लुङ, भदौ २६ । मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ ।

देशमै पहिलो पटक यहाँका चार गाविसमा लागू गरिएको ‘नमूना परियोजना’ सफल भएपछि सबै गाविसमा पुर्‍याउन लागिएको हो ।

‘मेडिक’ मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले परियोजना सञ्चालन गरेको हो । पैंयूपाटा, नारायणस्थान, अमलाचौर, पाला, मालिका, भकुण्डे, सिगाना, बिहुँ, भीमापोखरा, तंगाम, लहरेपिपल र मूलपानीमा परियोजना लागू भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्मका महिला र नवजात शिशुको स्याहार र स्वास्थ्य जाँचमा सघाउ पु¥याउन ‘मेडिक मोबाइल’ परियोजना ल्याइएको हो । सुरक्षित मातृत्वका लागि सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणाली प्रभावकारी देखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए ।

५९ गाविसमा रहेका ९५० महिला स्वयंसेविका र ६१ वटा स्वास्थ्य संस्थालाई स्वतः सन्देश लेनदेन गर्ने ‘सफ्टवेयर’ जडित मोबाइल वितरण गर्न लागिएको छ । परियोजना चलेको गाविस र स्वास्थ्य संस्थामा मोबाइल वितरण भइसकेको परियोजनाका अधिकृत मनोज खड्काले जानकारी दिए ।

वितरण भएका मोबाइलमा गर्भवती महिलाको नाम र विवरण भित्र्याउने काम सकिएको छ । ‘मोबाइलबाट गर्भवती, सुत्केरी र शिशुको निगरानी गर्ने यो प्रविधि सफल भएको छ, यसको प्रभावकारिता राम्रो देखिएपछि जिल्लाभर विस्तार गर्न लागेका हौं’–अधिकृत खड्काले भने ।

महिला स्वयंसेविकाले मोबाइलमा गराएको गर्भवती दर्ताको आधारमा ‘सफ्टवेयर’ले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचको लागि सन्देश दिने गरेको छ । महिला स्वयंसेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पुर्‍याउने गरेका छन् ।

मोबाइलले दिएको सन्देशकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्यसंस्थामै जाने क्रम बढेको पाइएको छ । प्रसूति हुने समयभन्दा दुईहप्ता पहिलेदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गरेको छ ।

मातृ तथा शिशु मृत्युदर घटाउन र स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर बढाउन परियोजना सहयोगी बनेको छ । मोबाइल सन्देशकै आधारमा स्वयंसेविकाले गर्भवती तथा सुत्केरी महिलालाई खबर गर्ने, स्वास्थ्य संस्थामा जानका लागि आग्रह र सहयोग गर्ने गरेका छन् । गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयंसेविका कहाँ पुग्ने गरेका छन् ।

परियोजना चलेका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूतिमा उल्लेख्य वृद्धि आएको छ । केही महिनाभित्र जिल्लाभर परियोजना विस्तार भइसक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस




भर्खरै