• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन

इलाम र पाँचथरका पाँच वटा सरकारी चीज कारखाना बन्द



इलाम, २८ भदौ । इलाम र पाँचथरमा रहेका पाँच वटा सरकारीस्तरबाट सञ्चालित चीज कारखाना बन्द भएका छन् ।

कारखानाबाट उत्पादित चीज बिक्री नभएपछि कारखानानै बन्द भएका हुन् । देशमा जारी बन्द, हडतालका कारण चीजको खपत नहुँदा कारखाना संकटमा परेका हुन् ।

दुग्ध विकास संस्थान विराटनगरअन्तर्गत रहेका पाँचथरको राँके र इलामका रक्से, माइपोखरी, पशुपतिनगर र नयाँबजार चीज कारखाना बन्द भएका हुन् । चीज कारखाना बन्द हुँदा किसानलाई दैनिक लाखौँ रूपैयाँ घाटा भइरहेको छ ।

गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प, मधेसमा जारी आन्दोलनका कारण राजधानीलगायत ठूला सहरमा दुई सातादेखि चीज निकासी हुन सकेको छैनन् । ठूला सहरका तारे होटलमा धेरै परिमाणमा बिक्री हुने चीज अहिले निकासी ठप्प छ ।

‘अहिले चीज खपत नभएर कारखानामा राख्ने ठाउँसमेत छैन, अर्काेतिर ढुवानी गर्न सकिएको छैन’ पशुपतिनगर चीज उत्पादन केन्द्रका प्रमुख सोमराज चापागाइँले भने–‘देशमा शान्ति स्थापना नहुञ्जेल चीजको बजार सुध्रिने देखिँदैन ।’ बन्द भएका चीज कारखाना कहिले खुल्ने भन्ने कुनै टुंगो नभएको कारखानाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेका यी चीज केन्द्रबाहेक जिल्लामा निजीस्तरबाट पनि एक दर्जनभन्दा बढी चीज कारखाना स्थापना भएका छन् । सरकारी स्वामित्वमा रहेका कारखानामा चीज बिक्री नहुँदा ३० हजार किलोग्राम तयारी चीज नष्ट हुने अवस्थामा पुगेको चापागाइँले बताए ।

यतिबेला प्रशस्त पर्यटक आउने सिजन भए पनि विनाशकारी भूकम्प, बन्द, हडतालको कारण पर्यटक नआएर होटल व्यवसाय फस्टाउन नसक्दा चीज बिक्री हुन नसकेको कारखानाले जनाएका छन् ।

देशकै ठूलो चीज उत्पादन केन्द्रको रूपमा स्थापित पशुपतिनगर चीज कारखानामा यसअघि दैनिक दुई हजार ७०० लिटर दूधबाट चीज उत्पादन गरिँदै आएको थियो ।

रक्से, माइपोखरी, नयाँबजार, राँके चीज कारखानामा दैनिक ८०० देखि एक हजार किलोसम्म चीज उत्पादन हुँदै आएको थियो । चीज कारखानाका अतिरिक्त संस्थानअन्तर्गत रहेका दुग्ध चिस्यान केन्द्रले समेत हप्ताको तीन दिन मिल्क होलिडे गर्न थालेका छन् ।

दुग्ध विकास संस्थानले दूध खरिद नगरेपछि चिस्यान केन्द्र पनि बन्द गर्नुपरेको विब्ल्याँटे दुग्ध चिस्यान केन्द्रका कर्मचारी ओमप्रकाश खरेलले बताए ।