
जनकपुर, भदौ २९ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) मंगलबार (आज) बिहान साढे ९ बजेदेखि हटाइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिए । मिथिला समुदायको ठूलो पर्व चौठचन्द्र र तीज पर्वलाई ध्यानमा राखी जनजीवन सामान्य पार्न कर्फ्यु हटाएको प्रशासनको भनाइ छ ।
जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले गएको शुक्रबारदेखि कर्फ्यु लगाएको थियो । कर्फ्यु तोड्दै भएको प्रदर्शनमा ३ जनाको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले सरकारी कार्यालय वरपर सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताए । रासस