९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

०७ सालदेखिको सपना पूरा भयो : प्रधानमन्त्री, नेपालको विजय : दाहाल



अ+ अ-

काठमाडौँ, भदौ ३१ । नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दीपावली गरौं : प्रधानमन्त्री
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताए ।

सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।’

राजनीतिक सङ्क्रमणकाल टुङ्गियो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेपाली जनताले गरेको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘सबैको भूमिकाबाट यो ऐतिहासिक उपलब्धि हुन सम्भव भएको हो । अब नेपालको राजनीतिक सङ्क्रमणकाल टुङ्गियो । दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शङ्काको पनि अन्त्य भयो ।’

अध्यक्ष ओलीले अब प्राकृतिक रुपमा सुन्दर र स्रोत साधनयुक्त नेपाललाई नयाँ संविधान कार्यान्वयनका आधारमा अघि बढाउने कार्यभार आएको बताए ।

नेपालको विजय : दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको रुपमा लिँदै जनता, राष्ट्र र स्वाभिमानको विजय हो भने ।

उनले भने, ‘संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिन चाहान्छु ।’

दाहालले विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट बन्ने संविधान धर्मशास्त्रका रुपमा नरहने भएकाले यसलाई परिमार्जन र गतिशील बनाउन सकिने भएकाले सभाबाहिर रहेका दललाई वार्तामा आउन तथा विजयउत्सवमा सहभागी हुन आग्रह गरे ।

खुशीको क्षण : खनाल र देउवा
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई जीवनकै अहिलेसम्मको खुसीको अनुभव भएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाएको गौरव र ऐतिहासिक घटनाका रुपमा लिएको बताए ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको २००७ सालदेखिको चाहना पूरा भएकाले अब आन्दोलनकारी दललाई पनि वार्तामा आई मुलुकको उन्नतिमा लाग्न आग्रह गरे । रासस