९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कोइरालासँग ३३ दलीय मोर्चाको वार्ता



अ+ अ-

काठमाडौँ,  भदौ ३१। प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेको छ ।

वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका माग, संविधानसभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको थियो ।
वार्तामा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व नभएका दललाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अत्यधिक प्रयास गरेको उल्लेख गर्दै भन्नुभयो, “तपार्इंहरुलाई सहभागी गराउने भनेर नै तपाईंहरुको मागअनुरुप सर्वपक्षीय राजनीतिक भेलाको आयोजना गरिएको थियो, दुर्भाग्यवस्, तपाईहरु आउन सक्नुभएन । सबै राजनीतिक दलहरुलाई तपार्इंंहरुका निमित्त मैले अन्तिम समयसम्म रोकेरै राखेको थिएँ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान अभ्यासको क्रममा परिस्कृत र संशोधन हुने भएकाले अहिले नसमेटिएका विषय संशोधनमा समेटिन सक्ने सम्भावना औंल्याउँदै देशमा शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएकाले सोका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानअनुरुप अब हुने स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचनमा सहभागी भएर जनताको सेवा र विकास निर्माणमा आफूलाई सरिक राख्ने अवसर सबैलाई प्राप्त भएको उल्लेख गर्दै ३३ दलीय मोर्चा र यसमा आबद्ध राजनीतिक दलहरुलाई त्यसलाई उपयोग गर्न आग्रह पनि गर्नुभयो ।
उहाँले वर्तमान सरकार र नेपाली काँग्रेस मुलुकमा शान्ति, स्थिरता र विकासका लागि सबै राजनीतिक दलहरुको सक्रिय सहभागिताको पक्षमा रहेकाले वार्ता र संवादको प्रक्रियालाई निरन्तरता दिइरहने पनि स्पष्ट पार्नु भएको थियो ।
यसैबीच, ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाले वार्तापछि सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट बुधबार पारित भएको संविधानमा समर्थन जनाउन गरेको आग्रहलाई मोर्चाले समर्थन गरेको बताउनुभयो ।
राष्ट्रिय राजनीतिक सभा गरिनुपर्ने आफ्नो माग पुरा नभएपनि विमतिका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत सम्बोधन गराउन पहल गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।
वार्ताका अवसरमा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्रका पक्षमा रहेका हरेक नेपाली र राजनीतिक दलहरुको भावना यसमा प्रतिबिम्वित भएकाले यस संविधानको पक्षमा उभिँदा नै नेपाली समाजमा लामो समयदेखि उत्पन्न घाउ पुर्न सजिलो हुने बताउनुभएको थियो ।
वार्तामा कानुन न्याय संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यले लोकतन्त्रको यात्रा निरन्तर चलिरहने भएकाले वर्तमान संविधानसभामा प्रतिनिधित्व र संविधान निर्माणमा प्रत्यक्ष सहभागिता हुन नसकेकामा चिन्तित नहुन आग्रह गर्दै संविधान निर्माणको प्रक्रियामा जनताको राय सुझाव लिने क्रममा सबै दलका नेता कार्यकर्ताको सहभागिता रहेको बताउनुभयो ।
उहाँले सबैको भावना समेटिएको यस संविधानले दिएका राजनीतिक अवसरमा सहभागी हुन पनि आग्रह गर्नुभयो । मन्त्री आचार्यले राजनीतिक दलको स्थान जनमतमा निर्भर रहने भएकाले जनताको सेवालाई सबैले ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।
तेत्तीस दलीय मोर्चाले शोभाराम थापाको संयोजकत्वमा शङ्कर थापा, डा वीरेन्द्रबहादुर कार्की, विक्रम कुँवर, डिबी थापा, हुकमबहादुर लामा, भोजराज गौतम, प्रकाश अधिकारी, शान्तुराम भट्टराई, रामनारायण यादव र गोपी सुनार सम्मिलित वार्ता टोली गठन गरेको थियो । रासस