
राजधानीमा शनिबार ठूलाे जुलुसले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे न्यायका लागि माग गर्दै प्रदर्शन गरिएकाे छ । सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन नसकेकामा चाैतर्फी विराेध भइरहेका बेला राजधानीमा जुलुस निकालिएकाे हाे । जुलुसमा सहभागीले प्रहरी प्रशासनले पर्याप्त काम गर्न नसकेकाे अाराेप लगाइएकाे छ ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।
‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजाराैं सर्वसाधरण सहभागी भएका छन् । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।
(तस्वीर साैजन्यः अनलाइनखबर)