६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ विश्व मधुमेह दिवस: मधुमेहको आँखामा असर



अ+ अ-

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच: अहिले नभए कहिले भन्ने’ मूल भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनाएको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउनका लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले आज जनाएको छ । यसअन्तर्गत ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् । 

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुना बढी हुन्छ ।

संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहको आँखामा असर ‘डायबेटिक रेटिनोपेथी’ सम्बन्धी जनचेतना जगाउन सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ । रासस