• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन

नेपालमा पनि माग भयाे समलिङ्गी विवाह कानून



काठमाडौँ, २३ मङ्सिर – नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गर्नुभएको छ ।

युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । आफू स्वयं पुरुष समलिङ्गी भए पनि कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न नपाएको उहाँको गुनासो थियो ।

युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका युवा अभियानकर्मी कविता बस्नेतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राख्नुभएको थियो । विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ । (रासस)