• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

काङ्ग्रेस महासमिति बैठक, पार्टीको बृहत्तर हित र एकतामा जोड



काठमाडौँ । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ ।

शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो ।

उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गर्नुभएको थियो । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आजै प्रस्तुत गर्नुभएको हो । जारी बैठकमा बोल्नुहुने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राख्नुभएको प्रवक्ता शर्माले बताउनुभयो ।

उक्त प्रतिवेदनमा पार्टीका सिद्धान्त र विचारका सम्बन्धमा गरिएका व्याख्या, अन्य दल र सरकारका सम्बन्धमा अभिव्यक्त धारणाका सम्बन्धमा महासमिति सदस्यले फरकफरक धारणा राख्नुभएको छ ।

साथै उहाँहरुले पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि काम गर्ने शैली र मूल्याङ्कन गर्ने परिपाटीमा सुधारको सुझाव दिनुभएको थियो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा भने शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।

शीर्ष नेताबीच सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन अर्का महामन्त्री पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्नुहुने बताइएको छ । विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।

महासमिति सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड

बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । महासमिति सदस्यले पार्टीको बृहत्तर एकता र हितमा जोड दिनुभएको छ ।

महासमिति सदस्यलाई यसअघि प्रदेशगतरुपमा समूह विभाजन गरी छलफल गर्ने भनिए पनि हाल एउटै हलमा छलफल भइरहेको छ । काङ्ग्रेसले महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरेको छ । चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

पार्टीले सबैका धारणा लिखित रिपोर्टिङ, श्रव्यदृश्य र श्रव्यसमेत सङ्कलन गरी सूचीबद्ध गरिरहेको र सोहीअनुसार सबैका भावना समेटिने गरी सबै प्रतिवेदन पारित गर्ने योजना बनाएको छ । बैठक पुस ३ गतेसम्म चल्नेछ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्काे महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हँुदैन ।

काङ्ग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक भएको छ । मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको काङ्ग्रेसको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्गे्रसजनको अपेक्षा छ ।