• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

सांसदले घरभाडा खाए मन्त्रीले तेल



प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दोहोर्‍याइरहेका छन् । तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् ।
अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् । मन्त्रीका स्वकीय सचिवहरूले पनि गैरकानुनी रूपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरूले मोटरसाइकल र इन्धन लिने गरेका छन् ।

जबकी मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा सुविधा सम्बन्धी ऐनअनुसार प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलबलगायत विभिन्न शीर्षका सुविधा लिइरहेका छन् । भत्ता, इन्धन खर्च, मन्त्रीको स्वकीय सचिलायका सदस्यहरूको तलव भत्तालगायतका सबै सुविधा भुक्तानी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार अर्थमन्त्री युवराज खतिवडाबाहेक सबै मन्त्री र राज्यमन्त्रीले नियमित रुपमा इन्धन वापत एकमुष्ट पैसा लिएका छन् । उपप्रधानमन्त्रीले इन्धनका लागि मासिक २४ हजार ५ सय १४ रुपैँया, मन्त्रीहरूले मासिक २१ हजार ३ सय २१ रुपैँया र राज्यमन्त्रीले मासिक १८ हजार ५४० रुपैँया लिने गरेका छन्  ।

मन्त्रीको तलब सुविधा
मन्त्रीको तलब : ६० हजार ९ सय ७०
महंगी भत्ता : ८ हजार
संचार भत्ता : ३ हजार
मसलन्द खर्च : तीन हजार ५ सय
इन्धनका लागि : २१ हजार ३ सय २१

अन्य मन्त्रीले पनि यसरी सुविधा लिएका छन्

शक्ति बस्नेत : १८० लिटर
वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले तलब–भत्ता, स्वकीय सचिवालयको तलब सुविधासहित मन्त्रीका रूपमा प्राप्त गर्ने सबै सुविधा मन्त्रिपरिषद् कार्यालयबाट लिइरहेका छन् । उनलाई गृह मन्त्रालयले गाडी दिएको छ । इन्धनका लागि मन्त्रिपरिषद् कार्यालयले मासिक २१ हजार दिइरहेको छ  । तर, उनले मन्त्रालयबाट एउटा ल्यान्डक्रुजर गाडी र बा।२झ २२०१ नम्बरको अतिरिक्त गाडी लिएका छन् । सचिवस्तरको निर्णय गराएर उनले मन्त्रालयबाट मासिक एक सय ८० लिटर इन्धन लिँदै आएका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयबाट गाडी र इन्धन लिएका छन् । अन्य सचिवालय सदस्यहरूले पनि नियमित इन्धन लिने गरेका छन् ।

पद्माकुमारी अर्याल : १५० लिटर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ८ जनाको स्वकीय सचिवालय बनाएकी छिन् । मन्त्री र सचिवालय सदस्यको सबै सेवा–सुविधा मन्त्रिपरिषद्ले भुक्तानी गर्दै आएको छ । गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । तर, उनले इन्धनलगायत सुविधा मन्त्रालयबाटै लिइरहेकी छिन् । मन्त्रालयबाट मासिक इन्धन मात्र १५० लिटर लिने गरेकी छिन् ।

भानुभक्त ढकाल : १६८ लिटर
अन्य मन्त्रीहरूले जस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि मन्त्रिपरिषद् कार्यालयबाट सुविधा खर्च एकमुष्ट बुझ्दै आएका छन् । तर, गाडीमा इन्धन मन्त्रालयबाटै भर्छन् । मासिक १६८ लिटर इन्धन हाल्ने गरेको मन्त्रालयले जनायो । अन्य मन्त्रीहरूलाई जस्तै गृह मन्त्रालयले गाडी उपलब्ध गराएको छ । तर, मन्त्री ढकालले थप एउटा प्राडो र अर्को कार मन्त्रालयबाट लिँदै आएका छन् । प्राडो मन्त्रीले नियमित प्रयोग गरे पनि सानो कार भने झन्डा नराखी पारिवारिक काममा प्रयोग गर्ने गरिएको छ । उनको स्वकीय सचिवले पनि मन्त्रालयबाट स्कारपिओ गाडी र इन्धन सुविधा लिँदै आएका छन् ।

विना मगर :२०० लिटर
खानेपानीमन्त्री विना मगरले विजयदेव भट्टराईलाई स्वकीय अधिकृत र रमेशदत्त भट्टलाई प्रशासन सहायकमा नियुक्त गरेकी छिन् । ५ जनाको सचिवालयको तलब सुविधा र आफ्नो तलबभत्तासहित उनले मन्त्रिपरिषद् कार्यालयबाट मासिक १ लाख ९५ हजार ७ सय ९३ रुपैयाँ बुझ्दै आएकी छिन् । उक्त पैसाभित्र उनको इन्धन सुविधाबापतको पैसा पनि जोडिएको छ । उनको सुविधाका लागि गृह मन्त्रालयले गाडी उपलब्ध गराएको थियो । तर, उनले मेलम्ची आयोजनाको टोयोटाको विलासी गाडी ल्यान्डक्रुजर प्राडो प्रयोग गर्दै आएकी छिन् । सो गाडीका लागि मासिक एक सय ५० देखि २ सय लिटरसम्म इन्धन पनि मन्त्रालयबाटै लिइरहेकी छिन् ।

मोहम्मद इस्तियाक राई : १३० लिटर
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ७ जना स्वकीय सचिवालय नियुक्त गरेका छन् । उनले पनि मन्त्रिपरिषद् कार्यालयबाट मासिक एकमुष्ट रकम बुझ्दै मन्त्रालयबाट पनि इन्धन लिइरहेका छन् । गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । गाडीमा हाल्ने इन्धन किन्न मन्त्रिपरिषद् कार्यालयले मासिक २१ हजार ३ सय दिन्छ, तर फोर्ड कम्पनीको करिब एक करोड पर्ने गाडी चढ्ने उनले मन्त्रालयबाट मासिक एक सय ३० लिटरसम्म इन्धन हाल्छन् । उनको सचिवालयले पनि आवश्यकताअनुसार इन्धन मन्त्रालयबाटै लिँदै आएको छ । स्वकीय सचिव सम्सुल हक राईले भवन विभागबाट बा।२झ ३६३८ नम्बरको स्कारपिओ गाडी प्रयोग गरिरहेका छन् ।

गिरिराजमणि पोखरेल  : ३०० लिटर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफू र ८ सदस्यीय स्वकीय सचिवालयको इन्धन खर्च मन्त्रालयबाटै लिने गरेका छन् । महिनामा दुईदेखि तीन सय लिटरसम्म इन्धन लिने गरेका छन्  । सुविधाका लागि गृह मन्त्रालयले गाडी उपलब्ध गराए पनि उनले मन्त्रालयबाटै पजेरो गाडी प्रयोग गर्दै आएका छन् । यस्तै फोर्ड कम्पनीको अर्को कार पनि प्रयोग गरिरहेका छन् । तर, यो गाडीमा झन्डा भने राखेका छैनन् ।

थममाया थापा : १५० लिटर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट तलब तथा अन्य सुविधासहित मासिक इन्धन सुविधा पनि लिइरहेकी छिन् । मन्त्रिपरिषद् कार्यालयले मासिक तलब तथा अन्य सुविधा भुक्तानी गरेको बिलमा उनले इन्धन शीर्षकमा मासिक २१ हजार ३ सय लिएको देखिन्छ । तर, मन्त्रालयबाट मासिक एक सय ५० लिटर लिइरहेको मन्त्रालयका लेखाका उपसचिव मिठु थापाले जनाए । नियमअनुसार दिन नमिल्ने भए पनि जबर्जस्त दिएको उनले बताए । थापाका अनुसार मन्त्री र उनको स्वकीय सचिवले गाडी र इन्धन मन्त्रालयबाट लिइरहेका छन् ।

दोहोरो सुविधा लिनु भ्रष्टाचार हो स् शारदाप्रसाद त्रिताल, पूर्वसचिव

पूर्वसचिव शारदाप्रसाद त्रिताल मन्त्रीले मन्त्रिपरिषद् कार्यालयबाट मात्र सुविधा लिन पाउने बताउँछन् । उनका अनुसार मन्त्रिपरिषद्बाट प्राप्त सुविधाको अतिरिक्त मन्त्रालयबाट कुनै सुविधा लिन मिल्दैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका त्रिताल भन्छन्, ‘मन्त्री, स्वकीय सचिवले मन्त्रालयबाट गाडी, इन्धनजस्ता सुविधा लिन पाउँदैनन् । एउटै व्यक्तिले दुई ठाउँबाट त सुविधा लिन मिल्दै मिल्दैन, त्यस्तो सुविधा लिनु भ्रष्टाचार ठहरिन्छ, त्यस्तो भएको छ भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्नुपर्छ ।’

नयाँ पत्रिका दैनिकवाट