२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी खुला चौरमा पढ्न बाध्य



अ+ अ-

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयसँग भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ ।

चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चार वटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् ।

कामदारदेखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन ।

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय पारस रावलले जानकारी दिनुभयो । भवन सञ्चालन गर्र्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् ।

भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताउनुभयो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रु ३६ लाखमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले रु १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उहाँको दाबी रहेको छ । रासस