२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक बनेपछि खच्चडको ठाउँमा गाडी



अ+ अ-

तेह्रथुम । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो ।

वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत गर्न थालेका छन् ।

पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै सवारी साधनले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिएका छन् । यसैकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गर्नुप¥यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको यो तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा चर्चित छ । यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताउनुभयो ।

धेरैजसोले चौंरी र खच्चड पनि बिक्री गरिसकेका छन् । पहिले यो मार्गमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पु¥याउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए तर, त्यो पनि अब रहेन सडकको सुविधा थपिएपछि ।

यही मार्ग भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताउनुभयो । शुरुमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए ।

यो मार्गमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लाग्नुभएको छ । एक दशकअघिसम्म उहाँ यो मार्गमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पु¥याउने काम गर्नुहुन्थ्यो । चौंरी धपाउने मार्ग भएर मोटर बाटो निर्माण भएपछि आफूहरूले बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताउनुभयो ।

त्यस्तै, गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका ग्याबु शेर्पाले वसन्तपुर हँुदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किन्नुभएको छ । पुर्खाले गर्दैआएको चौंरीलाई भारी बोकाउने पेशा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेशामा लागेको शेर्पा बताउनुहुन्छ ।

यही मार्गमा चौंरी र खच्चड किनेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका पाँच पोखरीका डम्बर बुढाथोकी, धु्रब खड्का, हर्क राईलगायत धेरै व्यवसायीहरू पनि फरक पेशा र व्यवसायमा लाग्नुभएको छ । टुटे देउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले सानाठूला सवारी गुड्छन् । यो मार्गको मंगलबारेमा व्यापार गर्दैआएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउनुहुन्छ ।

अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ । घुम्न जानेहरु बस चढेरै टिएमजे पुगिरहेका छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो – “बसमा यात्रु खचाखच हुन्छन् । त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन् ।” दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविस्ता भएको छ ।
दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताउनुभयो । “पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नु पथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,” चौकीबजारका उदयकुमार तामाङले भन्नुभयो – “अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।”

अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेका चौकीबजारका यज्ञ कार्की बताउनुहुन्छ । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका छन् ।

निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालनयोग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।

गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताउनुभयो । तामाङका अनुसार सडक निर्माण भएपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् ।

सडकले यहाँका ग्रामीण बजारहरुमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रुपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकले बस चढेरै टिएमजे घुमेर फिर्न पाएका छन् । रासस