१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष मनाइरहँदा शक्तिशाली विष्फोट, ७ को मृत्यु, दर्जनौँ सम्पर्कविहीन



अ+ अ-

रुसको एक अपार्टमेन्टमा नयाँ २०१९ को सुरुआतमै शक्तिशाली विस्फोट भएको छ । ग्रामीण पहाडी इलाकामा रहेको माग्नितोगोर्स्क शहरमा अपस्थित सो भवनमा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

विस्फोटपछि अपार्टमेन्टको बीचको आधा भाग ध्वस्त भएको छ । त्यहाँ ४८ अपार्टमेन्ट क्षतिग्रस्त भएको जनाइएको छ । तीन दर्जनभन्दा बढी मानिस सम्पर्कविहीन छन् । उनीहरु भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

अपार्टमेन्टमा मानिसहरु नयाँ वर्ष मनाइरहेका बेला सो विष्फोट भएको हो । अपार्टमेन्टमा १२० जना मानिस बस्दै आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

रुसको राजधानी मस्कोबाट करिब १४ सय किमी टाढा दक्षिणपूर्वमा रहेको सो भवनको भग्नावशेषबाट ५० जनालाई जीवितै उद्धार गरिएको जनाइएको । त्यसमा सात जना बालबालिका समेत छन् । घटना परी घाइतेहरु भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ ।

भग्नावशेषमा थप मानिस पुरिएको हुन सक्ने र उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने बताइएको छ । घटनापछि सो स्थलमा आधुनिक उपकरणसहित आपतकालीन उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म रहेकोले फसेकाहरुको चाँडो उद्धार प्रयास जारी छ ।

घटना लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दै दुस्ख व्यक्त गरेका छन् । उनले उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा समेत जनाएका छन् । सो विस्फोट ग्यास लिक भएर फड्किँदा भएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी