सियोल । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे ।
“बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल कार्डको प्रयोग गर्न सक्नुहुन्छ,” क्यासियरले बताए ।
आश्चर्यचकित ती महिला केही क्रुद्ध पनि भइन्, तर अन्ततः आफूसँग भएको प्लास्टिकको कार्डबाट भुक्तानी गरिन् ।
राजधानीमा खुलेका स्टारबक्सका धेरै कफी पसलमा भुक्तानी गर्ने यो तरिकाका बारेमा ग्राहकसँग झगडा भइरहन्छ । विश्वप्रसिद्ध यो अमेरिकी कफी पसलको कोरियाली इकाईले गत वर्षको शुरुदेखि आफूलाई “नगदविहीन स्टोर” मा परिणत गरेको छ ।
स्टारबक्स कफी कोरिया कम्पनीले तीन प्रमुख स्थानमा नमूनाका रुपमा यो व्यवस्था लागू गरेको छः सियोलको गङनाम र गुरो, र राजधानीबाट केही दक्षिणमा रहेको पान्ग्यो । यी स्थानमा नगदविहीन भुक्तानी विधि सन् २०१८ को अप्रिलबाट प्रारम्भ गरिएको छ ।
स्टारबक्स कोरियाका अनुसार, कफीका लागि सन् २०१० मा ३० प्रतिशत भुक्तानी नगदमै हुने गरेको थियो, तर सन् २०१७ मा यो ७ प्रतिशतमा आइसकेको थियो ।
“ठूलो संख्याका कोरियाली उपभोक्ताले क्रेडिट कार्ड र अरु किसिमका मोबाइल कार्डबाटै भुक्तानी गर्न रुचाएका छन्,” स्टारबक्स कोरियाका प्रमुख कार्यकारी अधिकृत ली सिओक–कूले बताउनुभयो । “कोरियाको डिजिटल पूर्वाधार निकै व्यवस्थित छ र अरुभन्दा निकै व्यापक छ ।”
स्मार्टफोन प्रयोगमा रमाउने युवायुवतीले त यो व्यवस्थालाई अझ बढी रुचाएका छन् ।
कोरिया केन्द्रीय बैंक (बीओके) को हालैको तथ्याँकले के देखाएको छ भने ली औसत दक्षिण कोरियाली मात्र हुन् । सन् २०१७ मा ग्राहकले खरिद गरेका करिब २० प्रतिशत सामानको भुक्तानी मात्र नगदमा भएको थियो । अघिल्लो वर्ष यो २६ प्रतिशत थियो ।
यसबाहेक, धेरै मानिसले प्लास्टिक कार्डको प्रयोग गर्न रुचाएका छन् । कतिपयले सामान किन्न र सार्वजनिक यातायातमा सामसुङ पे वा काकाओ पे जस्ता मोबाइल भुक्तानी सेवाको प्रयोग गर्न थालेका छन् । युवाबीच मोबाइल रेमिट्यान्स सेवा पनि व्यापक प्रयोग हुन थालेको छ ।
केन्द्रीय बैंकले नयाँ मुद्रा उत्पादन गर्ने लागत बढ्दै गएपछि बजारबाट नगदलाई विस्तारै विस्थापित गर्न नगद विहीन योजनालाई प्रबद्र्धन र प्रोत्साहित गरिरहेको छ । बीओकेले गत वर्ष काम नलाग्ने बैंक नोट र सिक्कालाई पुनस्र्थापित गर्न ५४ लाख अमेरिकी डलर खर्च गर्नु परेको थियो ।
गत वर्ष बीओकेको अग्रसरतामा थालिएको “सिक्काविहीन समाज परियोजना” अन्तर्गत उपभोक्ताले सामान किन्दा बचेको पैसालाई प्रिपेड मोबाइल कार्डमा सङ्ग्रह गर्न सकिने व्यवस्था गरिएको थियो । त्यस्तो रकमलाई अरु सामान खरिद गर्दा प्रयोग गर्न सकिने व्यवस्था मिलाइयो ।
विश्वमै नगदको प्रयोगलाई कम गर्दै लैजाने कोरिया एक्लो राष्ट्र भने होइन ।
नगद बोक्ने प्रचलन विस्थापन गर्नेमा स्वीडेन अग्रस्थानमा छ । स्वीडेनमा सन् २०१६ मा नगद भुक्तानीको प्रचलनमा १५ प्रतिशतले कमी आएको थियो । खुद्रा व्यापारीलाई समेत नगद लिन्न भन्न पाइने कानुनी अधिकार यहाँ छ ।
बस र सबवे सेवाले सिक्का लिन छाडिसके, र मोबाइल टिकट वा बार कोडका आधारमा भुक्तानी गर्न सकिने प्रविधि लागू भएको छ । आधाभन्दा बढी बाणिज्य बैंकले नगद जम्मा गर्न छाडिसकेका छन् ।
“नगद विहीन समाजले पारदर्शिता, सुरक्षा, प्रभावकारिता बढ्नुका साथै भुक्तानीमा सहजता आउँछ,” केबी रिसर्चको एक अध्ययनमा उल्लेख छ । “खासगरी, नगद विहीन भुक्तानी विधिले वित्तीय कारोबारलाई अझ बढी पारदर्शी बनाउँछ र लुकिछिपी कारोबारलाई न्यून गर्दछ ।”
व्यवसायी र उपभोक्ता दुवैका निम्ति नगद विहीन खरिदले कारोबारको समय घटाउँछ र नगद बोक्दा हुने जोखिमहरु जस्तै चोरीलाई न्यून गर्दछ ।
तैपनि, नगद नै देख्न नपाइने कारोबारको सम्भावना अझै पनि कमै छ । कतिपय अवस्थामा हालको भुक्तानी नेटवर्क ९सञ्जाल० को सुरक्षामाथि प्रश्न पनि उब्जिरहेको छ ।
गैर–नगद कारोबार बढे पनि कोरियामा अद्यापि नगद भुक्तानीलाई बढी विश्वासिलो मान्ने गरिएको छ, खासगरी बुढ्यौली उमेरका व्यक्तिहरुमा ।
गत वर्ष बीओकेले गरेको सन्तुष्टी सर्वेक्षणमा नगद नै सबैभन्दा बढी विश्वासिलो भुक्तानीको माध्यमका रुपमा रहेको देखिएको छ । नगद नै उपयुक्त छ भन्नेको स्कोर ८२.१ विन्दु, क्रेडिट कार्डको ७८ र डेबिट कार्डको ७४.५ विन्दु थियो ।
साठी र ७० वर्ष उमेरका मानिसहरुले गत वर्ष प्रति महिना औसतमा १५ पटक नगदमै सामान खरिद गरेका थिए, तर उनीहरुले १० पटकभन्दा कम क्रेडिट कार्ड प्रयोग गरेका थिए ।
दक्षिण कोरियालीसँग खल्तीमा औसत ८० हजार वोन नगद हुन्छ, र ५० वर्षको हाराहारीका व्यक्तिसँग औसत एक लाख वोन हुने गर्दछ, बीओकेले जनाएको छ ।
साथै, नगद चोरीको जोखिम कम हुने भएपनि इलेक्ट्रोनिक भुक्तानी विवरणहरु ह्याकिङ हुने सम्भावना बढेको छ ।