८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्बो टोली बोकेर प्रधानमन्त्री ओली युरोप जाँदै



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री केपी ओली माघ पहिलो साता स्विट्जरल्यान्ड जाने भएका छन् । उनी वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जान लागेका हुन् । फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ देखि माघ ११) सम्म स्विट्जरल्यान्डको डावोसमा हुने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् ।
बैठकमा प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ‘बिओन्ड दी जीडीपी’ सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।
स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको छ ।
यसैबीच ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीका एक सल्लाहकारले जनाएका छन् । त्यसको पनि तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् ।
फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।