५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट घटनाको सत्यतथ्य छिट्टै बाहिर ल्याउँछौं, दोषि मन्त्री नै भएपनि कारवाही गर्छु : मन्त्री यादव



अ+ अ-

जनकपुरधाम । प्रदेश २ मा मन्त्रीद्वारा सचिव कुटिएको घटनाका छानबिन समितिका संयोजक ज्ञानेन्द्र यादवले छिटै सत्यतथ्य के हो ? भन्ने कुरा सार्वजनिक गरिने बताएका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका यादवले दोषी जो कोहि देखिएपनि कारबाही गरिने कुरामा ढुक्क हुन संचार माध्यमलाई आह्वान गरेका छन् ।

आइतवार आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफ्नो आफन्तलाई जागिर नदिएको रिशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाइ अस्पताल भर्ना हुनेगरि कुटपिट गरेका थिए ।

उक्त घटना छानबिनका लागि प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री यादवको संयोजकत्वमा तीन सदस्यीय समिति सोमबार गठन गरिएको थिए । समिति संयोजक यादव सोमबार सचिव झासँग घटनाबारे बुझ्न उनी भर्ना भएको जनकपुरको केयर नर्सिङ होम पुगेका थिए ।

अस्पतालबाट फर्किएपछि सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै मन्त्री यादवले भने ‘जोसुकै भए पनि कारबाही हुन्छ, कुन किसिमको दोष छ, त्यही अनुसार कारबाही हुन्छ ।’ उनले अप्रिय कुरालाई निरुत्साहित गर्दै जानुपर्ने बताए ।

सत्यतथ्य कुरा बाहिर नआईकन संचार माध्यमको भरमा यहि दोषि हो भनेर कारवाहि गरिने स्थिति नभएकाले केहि दिन कुर्न आग्रह गरेका हुन् ।

झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाको परिवार स्रोतले यसअघि नै जनाकारी दिसकेका छन् ।