२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरखडाई काट्ने भन्दै विद्यालय नै बन्द, ३५ हजार सर्वसाधारण निकुञ्ज प्रवेश



अ+ अ-

काठमाडौं । खरखडाई काट्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज तीन दिनका लागि खुला गरिएको छ । निकुञ्ज मध्यवर्ती क्षेत्रका करिव पैतीस हजार जनता निकुञ्जमा खरखडाइ कटाइमा लागेका छन् ।

माघ १० देखि १२ गतेसम्म तीन दिन खरखडाईका लागि निकुञ्ज खुल्ला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज स्रोतका अनुसार निकुञ्ज प्रवेशका लागि ठाकुरद्धारा, मोतीपुर, पाताभार, गोला, आम्बासा, भुरिगाउँ ,सैनवार, परेवावडार,रम्मापुरलगाएत ३५ वटा नाकाबाट निकुञ्ज प्रवेश खुला गरिएको छ । खरखडाईका लागि करिव ३५ हजार पुर्जी वितरण गरिएको निकुञ्ज प्रशासनले जनायो । समाचार राजधानी दैनिकमा छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । यस वर्ष बाँके र बर्दिया निकुञ्जमा एकै साथ खरखडाई खुला गरिएको छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाई, सेठा, कुचो र बाबियोलगायतका सामग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

खरखडाईका लागि राजश्ववापत प्रतीव्यक्ति ५० रुपैँया९भ्याटसहित० र संरक्षण चन्दा शुल्क २० रुपैँया गरी जम्मा ७० रुपैँया शुल्क निकुञ्जले लिने गरेको छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ

निकुञ्ज प्रवेशका लागि विहान ७ बजेदेखि साझ ५ बजेसम्मको समय तोकिएको छ । निकुञ्जमा खरखडाई खुलेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रका विद्यालयसमेत बन्द भएका छन् । हरेक वर्ष विद्यार्थीहरु अभिभावकसँग खरखडाई काट्न जाने भएकाले विद्यालय बन्द गर्नुु परेको विद्यालयहरुले जनाएका छन् । विद्यालयको शैक्षिक क्यालेण्डरमै खरखडाईका लागि २ दिन विदा छुट्याइएको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुशेश्वरप्रसाद चौधरीले बताए ।

खरखडाई काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाई वाहेक वन्यजन्तु वा वन्यजन्तुका अंग, काठ,दाउरा, वाँसलगायतका अन्य वन पैदवार निकासी गरेका पाइएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने निकुञ्जले जनाएको छ ।

खरखडाईका बेला हुन सक्ने चोरीसिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । चेकजाँच तथा सुरक्षाका लागि निकुञ्जका २ सय २३ कर्मचारी, सेनाको एउटा बटालियन, चोरी शिकार नियन्त्रण युवा परिचालन समितिमा अवद्ध स्थानिय युवाहरु खटिएको सहायक संरक्षण अधिकृत भण्डारीले बताए ।

पछिल्लो समयमा गाउँघरमा प्लाष्टिकका डोरी, टिनको छानो र पक्की घर निमार्ण गर्ने क्रम भएसँगै खरखडाई काट्ने काममा कमी आएको स्थानिय मनमोहन थारु बताउँछन् ।