२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स



अ+ अ-

काठमाडौं । देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो।

संघले निर्माण सुरु भएपछि मासिक दुई लाख र सम्पन्न भएपछि पाँच लाख पाउने गरी आकृति हाउजिङलाई उक्त जग्गा ३२ वर्षका लागि लिजमा दिने गरी सम्झौता गरेको छ। संघका अध्यक्ष नेपाली सेनाका पूर्वजर्नेल दिगम्बरशमशेर राणाले सम्झौताबमोजिम भवन बन्न लागेको स्वीकार गरे। उनले भने, ‘सम्बन्धित निकायसँग अनुमति लिएर ऐननियमबमोजिम लिजमा दिइएको हो।’

संघका महासचिव श्याम घिमिरेले आफूहरू रक्षा मन्त्रालयअन्तर्गतको निकाय भएकाले मन्त्रालयदेखि क्याबिनेटसम्मबाट निर्णय गरेर लिजमा दिएर भवन निर्माण हुन लागेको दाबी गरे। तर रक्षा प्रवक्ता बाबुराम गौतमले त्यस्तो कदमलाई विधिसम्मत रूपमा रोकिनुपर्ने बताए। नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जग्गा नेपाल राष्ट्रिय भूतपूर्व संघका नाममा रहेकाले त्यसबारे सेनालाई विस्तृत जानकारी नभएको बताए।

कुल १७ रोपनी जमिनमध्ये १० रोपनी भाडामा लगाउन निकै लामो अभ्यास भएको थियो। लिजमा व्यापारिक कम्प्लेक्स बन्न लागेको विषयमा ललितपुर महानगरपालिका बेखबर छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनले त्यसबारे अनभिज्ञता प्रकट गरे। जग्गा रहेको स्थान ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले उक्त जग्गाबारे विवाद रहेको जानकारीमा आए पनि कम्प्लेक्स बन्न लागेको भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको समाचार नागरिक दैनिकमा छ ।