बनेपा । मुलुक परिवर्तनका लागि ज्यानको आहूति दिने शहीदको सम्झनामा आज देशभरि शहीद दिवस मनाइरहँदा २०६२/६३ का जनआन्दोलनका घाइते मुकेश कायस्थ भने ओछ्यानमा नै छटपटिरहनु भएको छ । उहाँ २०६२ चैत २७ गते बनेपामा गोली लागी घाइते हुनुभएको थियो ।
उपचारको क्रममा अहिलेसम्म तीन पटक टाउकाको शल्यक्रिया गरिसकेका उहाँको अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको आमा मीरा कायस्थले बताउनुभयो । पहिलाको तुलनामा उपचार गरेर सुधार हुँदै आएको भए पनि अहिले नसाका कारणले छारे रोगजस्तो लक्षण देखिएको छ । पहिलाको जस्तो बोल्न खोज्ने, हातखुट्टा चलाउनेजस्ता क्रियाकलापसमेत नदेखाएको उहाँले बताउनुभयो ।
गत असार १ गतेबाट सो लक्षण देखापरेका मुकेशलाई शुरुमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगेको र त्यसको १५ दिनपछि नसाको उपचारको लागि ट्रमा सेन्टरमा १५ दिनसम्म उपचार गरिएको थियो । त्यहाँ पनि टाउकोको शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी घरमा नै ल्याएर राखेको परिवारले जनाएको छ ।
घरमा राखेर पनि सुधार नभएपछि पुनः काठमाडौँको मिडिसिटी अस्पतालमा उपचारको लागि लगेको र चिकित्सकको सल्लाहअनुसार टाउकामा जमिरहेको पानी निकाल्नुपर्छ भनेपछि गत मङ्सिर १३ गते शल्यक्रिया गरी पानी निकालेको आमा मीराले बताउनुभयो । “शल्यक्रिया गरेपछि पनि खासै सुधार देखिएको छैन” उहाँले भन्नुभयो, “पछि फेरि निमोनिया भएपछि घाँटीमा प्वाल पारी कफ निकालेर थप उपचार गरिरहेको भएपनि पूर्णरुपमा निको भएको छैन ।”
अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि मिडिसिटी अस्पतालमा उपचार गरेको बखतको खर्च भने स्वास्थ्य मन्त्रालयका सचिवले यो अन्तिम पटक हो, अब सकिँदैन भन्दै उपचार खर्च दिएको बताउनुभयो ।
सरकारको निर्णय यति छिट्टै परिर्वतन हुन्छ त रु उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकारले गरेको निर्णय नै यतिछिट्टै परिवर्तन हुन्छ भने कसरी भन्ने शहीदको सपना साकार पार्छ र सम्मान हुन्छ भनेर रु” ‘‘मुकेशलाई भत्ता बढाइदेऊ भनेका छैनौँ, उपचार राम्रोसँग गरिदिनुहोस्, अब सरकारले मुकेशको नाममा पुनःस्थापना केन्द्र(अस्पताल) खोलियोस्” उहाँले भन्नुभयो, “अहिले पो हामी सक्षम छौँ आमा बाबाले उपचार गरिहेका छौँ, भोलि हामी सशक्त हुँदा कसले उपचार गरिदिन्छ, त्यसैले उहाँजस्ता घाइतेका लागि उपचार गर्न सरकारले अस्पताल खोलिदियोस् ।”
प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेतासमेत आएर मुकेशलाई संसारको जुनसुकै ठाउँमा लगेर भए पनि उपचारको लागि लाग्ने सबै खर्च ब्यहोर्ने र जिउँदो शहीद घोषणा गर्ने भनिएता पनि अहिलेसम्म मन्त्रिपरिषद्ले सो निर्णय नगर्नु र पछिल्लो समयमा उपचारको लागि लाग्ने खर्चसमेत ब्यहोर्न आनाकानी गर्नुले मुलुक परिवर्तनका लागि ज्यानको आहुति दिने शहीद र उनका परिवारको योगदानको अवमूल्यन भएको परिवारको गुनासो छ ।