२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरको खर्च १७ प्रतिशत, कामै नभएका योजनालाई राखियो उपलब्धिमा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको १७ प्रतिशत मात्र खर्च गरेको छ ।महानगरपालिकाले चालू आर्थिक वर्षका लागि कुल १२ अर्ब ४ करोड ११ लाख ५७ हजार बजेट विनियोजन गरेको थियो । महानगरपालिकाले पछिल्लो ६ महिनामा ५८ वटा कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
जसमा रानीपोखरी पुनर्निर्माण प्रक्रियाको तयारी, कमलपोखरी पुनर्निर्माण टेन्डर प्रक्रियामा गएको, स्मार्ट शौचालय निर्माणका लागि कार्यदल गठन गरेको, सम्भाव्यता अध्ययनको तयारीमा रहेका अकासेपुल, थपिन लागेका सडक बत्तीलगायतका छन्, जसमा केहीको कामै सुरु भएको छैन भने केहीको कार्यप्रगति शून्य छ । तर, योजना सम्पन्न भइसकेका र सन्तोषजनक कार्यप्रगति भएका काम विवरण महानगरपालिकाले उपलब्धिमा राख्न सकेको छैन ।

उपलब्धिका रूपमा दाबी गरेका योजनालाई हेर्दा रानीपोखरी पुनर्निर्माणको कामको प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन । जबकि, प्रगति विवरणमा महानगरले रानीपोखरी पुनर्निर्माणका लागि १७ करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख मात्र गरिएको छ । यसका लागि चौथोपटक टेन्डर आह्वान गर्ने तयारी महानगरको छ ।
यस्तै, प्रत्येक वडामा आफ्नै कार्यालय भवन बनाउने योजना महानगरपालिकाको थियो । यसका लागि २५ करोड रुपैयाँ बजेट पनि छुट्याएकोे छ । तर, यस कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन । केही समयअघि मात्र वडा नम्बर १८ र २६ को भवन निर्माणका लागि शिलान्यास भएको छ । बडा नम्बर ६ र ७ को कार्यालय निर्माणाधीन अवस्थामा छन् । वडा ४, ८, ९ र १४ को कार्यालय भवनको खरिद प्रक्रिया अघि बढेको छ भने बाँकी वडामा भवन निर्माणको प्रक्रिया अझ सुरु हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा महानगरपालिकाले थप तीनवटा अकासे पुल निर्माण गर्ने योजना बनाएको छ । यसका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ । तीमध्ये दुईवटा पुल रामशाहपथस्थित पुरातŒव विभागअघि र एउटा चाबहिलमा निर्माण गर्ने सम्भावना रहेको महानगरपालिकाले जनाएको छ ।

‘मेयर उज्यालो’ कार्यक्रमका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३२ वटै वडामा ८ हजार सडक बत्तीको आवश्यकता पर्नेमा भर्खरै मात्र ६ सय यस्ता बत्ती जडान भएका छन् । बाँकी बत्तीका लागि सबै वडाबाट विवरण माग गरिएको महानगरले जनाएको छ ।
काठमाडौं चक्रपथमा मोनोरेल सञ्चालनका लागि चीनको सीआरसीसी कम्पनीसँग डीपीआर सम्झौता भएको, महानगरका विभिन्न स्थानमा स्मार्ट सोलार डस्टबिन राखिएकोलाई पनि यस अवधिको उपलब्धिका रूपमा देखाइएको छ ।
महानगरका प्र्रवक्ता ईश्वरमान डंगोलले महानगरले आशातित रूपमा काम गर्न नसकेको स्विकारे । प्रवक्ता डंगोलका अनुसार महानगरका वडाको कार्यसम्पादन सन्तोषजनक रहे पनि केन्द्रीय योजनाअन्तर्गतका काममा भने प्रारम्भिक परियोजना निर्माण तथा योजना अध्ययनका लागि समय लागेकाले ढिलाइ भएको हो ।

समग्रमा महानगरले नगरवासीको अपेक्षाअनुरूप काम गर्न सकेको देखिँदैन । जनताका सामान्य समस्या र दैनिक जनजीवनलाई सहज बनाउन महानगर चुकेको देखिन्छ । सडकको धुलोधुवाँ नियन्त्रणजस्ता दैनिक समस्या र महानगरवासीको समस्या समाधानका लागि भरपर्दो विकल्प दिन सकेको छैन ।
इटालीबाट पाँचवटा ब्रुमर ल्याउने उल्लेख गरिएको भएता पनि उपलब्धिका रूपमा आउन सकेको छैन । त्यस्तै, ट्राफिक जाम तथा पार्किङ समस्या समाधानका क्षेत्रमा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
निर्वाचनका समयमा ‘स्मार्ट सिटी’ बनाउनेसम्मका सपना बाँडेका विद्यासुन्दर शाक्य महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि उनले सोअनुरूपका कार्य गर्न नसकेको नगरवासीको गुनासो छ ।राजधानी दैनिकमा खबर छ ।