काठमाडौं । देशभरका सबै विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बनाइने भएको छ । अधिकांश विद्यालयमा स्यानिटरी प्याडसहितको शौचालय नहुँदा महिनावारीको समयमा बालिका र शिक्षिकाहरूलाई विद्यालय समयमा अप्ठ्यारो हुने गरेको छ । शिक्षा विभागको तथ्यांकअनुसार हाल देशभर ३५ हजार ६०१ विद्यालय रहेका छन् ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको प्रतिवेदनमा महिनावारी तथा छाउपडी प्रथाजस्ता कारणले हुने छात्रा अनुपस्थितिलाई घटाउन स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाइन लागेको हो ।
महिनावारीका कारण विद्यालयमा अध्ययनरत छात्राको विद्यालय छाड्ने दर वृद्धि भएको र उनीहरूको सिकाइस्तर पनि खस्किँदै गएको देखिएको भन्दै प्रत्येक विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाउन प्रस्ताव गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
महिनावारी भएको समयमा विद्यालय आउँदा घरबाट आफैंले ल्याएको प्याड कहिलेकाहीँ सकिने र विद्यालयमा प्याडको व्यवस्था नहुँदा अप्ठ्यारो हुने गरेको छात्राहरूको गुनासो छ । देशभरका अधिकांश विद्यालयमा छात्राका लागि उचित व्यवस्था नगरिँदा उनीहरू विभिन्न समस्यामा पर्ने गरेका छन् ।
काठमाडौं स्थित एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा बिनिता शाहीले भनिन्, ‘हाम्रो विद्यालयको शौचालयमा अनावश्यक कागज नफाल्नुहोला लेखेको छ । महिनावारी हुँदा समस्या हुन्छ ।’
काठमाडौंको एक निजी विद्यालयमा पढाउने शिक्षिका आकृति रिजाल भन्छिन्, ‘महिनावारीको समस्याले गर्दा छात्रा विद्यालयमा टोलाएर बसेका हुन्छन् । उनीहरू लाज मान्छन् । अब यो विषयलाई उजागर गर्नुपर्छ जस्तो लाग्छ ।’ स्यानिटरी प्याड उपलब्ध गराउन विद्यालय व्यवस्थापन समितिसमक्ष समेत कुरा राखे पनि वास्ता नगरेको फुयालले बताइन् ।
तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारीका अनुसार प्रतिवेदनले समेटेका सबै विषय संघीय शिक्षा ऐन बनिसकेलगत्तै कार्यान्वयनको चरणमा आउनेछन् ।
महिनावारी हुँदा मर्यादापूर्वक जिउन पाउनुपर्ने मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले बताइन् । उनले भनिन्, ‘सरकारले अहिलेसम्म महिनावारीका सन्दर्भमा कुनै कदम चालेको देखिँदैन । र, सरकारको लगानीमा स्यानिटरी प्याडसमेत उत्पादन नभएको अवस्था छ ।’ राजधानी दैनिकमा खबर छ ।