२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाका लागि ‘अटो रिक्सा’



अ+ अ-

बनेपा । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ ।

उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो ।
उहाँले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थाल्नुभएको उहाँको भनाइ छ ।

उहाँले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाउनुभएको थियो । त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आउनुभएको छ ।

अहिले उहाँले काठमाडौँमा भन्दा बनेपामा अटो रिक्सा चलाएर बढी आम्दानी गरेको बताउनुभयो । सोही पेशाबाट छोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएकी उहाँले अहिले राम्रै आम्दानी भइरहेको बताउनुभयो ।

“छोरीलाई ललितपुरको टिकीदेवलस्थित होस्टलमा राखेर पढाइरहेकी छु, शुल्क तिरेर खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भन्नुभयो, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।”

“ट्याम्पो चलाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म कमाइ हुन्थ्यो, अहिले बनेपामा आएर नयाँ पेशा शुरु गरेकी हूँँ”, उहाँले भन्नुभयो, “त्यसअघि सामान्य किसिमको व्यापार, इँट्टाभट्टामा समेत काम गरेँ, पछि भएन भनेर गाडी चलाउन सिकेर अनि यो पेशा शुरु गरेकी हूँ ।”

एक पटक त विदेश९दुबई० जान भनेर राहदानीसमेत बनाएर एक वर्षसम्म प्रयास पनि गर्नुभयो उहाँले । तर उहाँको भिसा लागेन ।

काभ्रेपलाञ्चोकको पनौती मल्पी घर भएका अर्का अटो रिक्सा व्यवसायी सुदीप थापाले सो पेशाबाट राम्रो आम्दानी भएको बताउनुभयो । “दिनको रु एक हजार ५०० देखि दुई हजारसम्म कमाउँछु”, थापाले भन्नुभयो, “राम्रोसँग खट्नेले दिनको दुई तीन हजारसम्म पनि कमाइरहेका छन्, म त आफ्नै गाडी भएकाले बिहान पनि अलि ढिला आउँछु, बेलुका पनि छिट्टै घर जान्छु, यसरी काम गर्दा पनि मासिक रु चालिस हजारदेखि पचास हजारसम्म कमाइ हुन्छ ।” घर खर्च गरेर १५ देखि ३० हजारसम्म बचत हुने उहाँको भनाइ छ ।

स्वरोजगारका लागि मेहनत गर्छु भन्नेका लागि अटो रिक्सा राम्रो व्यवसाय भएको उहाँको भनाइ छ । “विदेश नगई स्वदेशमा नै पाखुरा खियाएर खान्छु भन्नेका लागि यो पेशा एकदमै राम्रो छ, आम्दानी पनि हुन्छ, आफ्नै घर परिवारसँग बसेर घर चलाएर बचत पनि गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको बनेपा विगतदेखिको व्यापारिक केन्द्र पनि भएको र अरनिको र बिपी राजमार्ग पनि जोडिएकाले मानिसको सबै कुराको केन्द्रीत भएपछि पछिल्लो समयमा साना खालका सवारी साधनको व्यवसाय फस्टाउँदै गएको छ ।

लगानी पनि रु चार लाखदेखि पाँच लाखसम्म भए पुग्ने र त्यसका लागि सहकारीमार्फत किस्ताबन्दीमा पनि पाइने भएपछि व्यवसाय गरेर खान चाहनेका लागि अटो रिक्सा व्यवसाय युवाको रोजाइ बनेको छ ।

अटो रिक्सा व्यवसायी भन्छन्, “खटेर काम गरेमा राम्रै आम्दानी हुन्छ, कहिलेकाहीँ प्रहरी र नगरपालिकाले पार्किङमा दुःख दिने बाहेक अरु त सबै राम्रो छ ।” त्यसरी सञ्चालनमा ल्याएवापत नगरपालिकालाई वार्षिक रु ५०० कर तिर्नु परेको व्यवसायी बताउँछन् ।

बनेपा आसपासका भित्री शहर र बस्तीमा जान र वरिपरिका शहर धुलिखेल, पनौती, साँगा, नाला, चौकोट लगायतका ठाउँमा जान पनि सहज हुने भएकाले अटो रिक्सा व्यवसायी बढ्दै गइरहेका छन् । अहिले बनेपामा मात्रै दैनिक १५ देखि २० वटासम्म अटो रिक्सा सञ्चालनमा छन् ।