७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

खानेपानीको संकट टार्न पानीको मुहान नै किन्नुपरेपछि…

खानेपानीको संकट टार्न पानीको मुहान नै किन्नुपरेपछि…
अ+ अ-

काठमाडौं । भोजपुर दिङ्ला बजारका घनश्याम श्रेष्ठ, हेमराज श्रेष्ठ, खिलराज श्रेष्ठ र डुन्डी श्रेष्ठले २०र२० हजार रुपैयाँ उठाएर खानेपानी मुहान खरिद गरे । षडानन्द–८ तुंगेछास्थित पोष्टबहादुर चापागाईंका नाममा रहेको खानेपानी मुहानलाई उनीहरूले ८० हजारमा लगाएर किनेका हुन् ।

पानी उम्रिएको चार आना जमिन किनेपछि मात्र श्रेष्ठ दाजुभाइले खानेपानी जोहो गर्न सके । ‘जग्गाधनीले पानी लैजानका लागि मुहान र वरपर रहेको जग्गा किन्नै पर्ने सर्त राखे’, हेमराजले भने, ‘हामीसँग कुनै विकल्प भएन । खानेपानीको संकट टार्न पनि मुहान खरिद गरेर घरसम्म पाइपमार्फत पानी ल्यायौं ।’

उनका अनुसार गाउँ नजिकका मुहान सुक्न थालेका छन् । ‘पहिले पानी उम्रिने ठाउँमा अहिले मुहानै सुकिसके । गाउँघरमा एउटा–दुईटा मात्र मुहान बाँकी छन्’, उनले भने, ‘बाँकी मुहान सुके भने पानी नपाएर मरिन्छ होला । उम्रिएको पानी त्यत्तिकै उपभोग गर्न नदिने भनेपछि हामीले दाजुभाइ मिलेर एउटा मुहान नै किन्नुपर्‍यो ।’

दिङ्लाकै २२ परिवारले पनि मिलेर मुहान भएको १२ रोपनी जग्गा स्थानीय प्रेमनाथ चापागाईंसँग किने । जग्गा नकिने पानी उपभोग गर्न नपाइने भएपछि उनीहरूले ३० लाख रुपैयाँ संकलन गरे । तीन किलोमिटर पर रहेको मुर्कुटे धाराको मुहान भएको जग्गा खरिद गरिएको स्थानीय पवन कुलुङले बताए । प्रतिपरिवार १ लाख ३६ हजार रुपैयाँभन्दा बढी पर्‍यो । पानीको स्रोत नहुँदा वैकल्पिक उपायका रूपमा मुहान भएको जग्गा किनेर घर–घरमा धारा पुर्‍याइएको उनले सुनाए ।

‘पानीका लागि हामीसँग अन्य विकल्प थिएन । खानेपानी पाउन नसकेर तनाव बेहोर्नुपर्‍यो’, उनले भने, ‘गाउँघरमा जग्गाधनीसँग मुहान किन्नु हाम्रो बाध्यता हो । मुहान किनेर ल्याएको पानी प्रयोग गर्ने गरिएको छ ।’

स्थानीय होटल व्यवसायी नारायण श्रेष्ठलगायत चार परिवारले पनि ४ लाखमा दुई रोपनी जग्गा किनेर पानी व्यवस्थापन गरेका छन् । आसपासमा मुहान नहुँदा दिङ्ला बजारका धेरैजसो स्थानीयले समस्या झेल्नुपरिरहेको उनले बताए । ‘कसैले पानी माग्दा दिने अवस्था भएन । होटल व्यवसाय चलाउन त झन् गाह्रो भयो’, उनले भने, ‘त्यही भएर पनि मुहान खरिद गर्नै पर्ने अवस्था आयो । मुहान किनेर ल्याएको पानीले सजिलो भएको छ ।’

बेला–बेला मुहान मर्मत नगरे त्यही पानी पनि नआउने उनले सुनाए । भने, ‘मुहान टाढा भए पनि मान्छे र वस्तुभाउलाई चाहिने भएपछि दुःख गर्नै पर्छ ।’

केउरेनीपानी खानेपानी उपभोक्ता समितिले पनि २०७३ मा किमालुङ, खार्तम्छा र तुंगेछाको सिमानामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउन योजना ल्याएको थियो । २०७६ भित्र बजारमा पानी आपूर्ति गर्ने लक्ष्य छ । मजदुरको ज्यालाका लागि उपभोक्ता समितिका ३ सय ६० परिवारबाट १ हजार २ सय ३० रुपैयाँका दरले रकम संकलन गरिएको योजना समितिका अध्यक्ष जितेन्द्र श्रेष्ठले बताए । उनका अनुसार १ हजार ५ सय घरधुरी लाभान्वित हुने गरी ७० हजार लिटर क्षमताको ट्यांकी बनाउने काम भइरहेको छ ।

नगरपालिकाले भने खानेपानीका लागि निर्णय गरेको छैन । खानेपानीलाई प्राथमिकतामा राखिएको मेयर वीरबल राईले बताए । ‘दिगो विकासका लागि कामको थालनी पनि बिस्तारै हुन्छ’, उनले भने, ‘आउँदो परिषद्को नयाँ योजनाबाटै बजार क्षेत्रमा खानेपानीको सुलभ पहुँचका लागि भौतिक संरचना निर्माण र योजनालाई प्राथमिकतामा राखेर अगाडि लानेछौं ।’

फेदीको पानी डाँडामा

मालिका गाउँपालिका–७ बिमकी हेमु जुग्जालीको आँगनमै खानेपानी आउन थालेको छ । ‘हरेक दिन डेढ–दुई घण्टा लगाएर पानीको जोहो गर्नुपर्ने दिन गए’, उनले भनिन्, ‘आँगनकै धारामा नियमित पानी आउन थालेपछि धेरै सुविधा भयो ।’

घरायसी तथा वस्तुभाउका लागि घण्टौं पालो पर्खिएर पानी आसोर्दै आएकी देवी जुग्जालीको दैनिकी फेरिएको छ । ‘बिहान उठेदेखि नसुत्दासम्म पानीको जोहो गर्दागर्दै बित्थ्यो’, उनले भनिन्, ‘अब भने समय बचत र सुविधा दुवै हुने भयो ।’

बिमका सयभन्दा बढी घरको दैनिकी लिफ्टिङ प्रविधिको खानेपानी आयोजना सञ्चालन भएपछि परिवर्तन भएको हो । बिम लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पुर्‍याएर घर–घरमा वितरण गरिएको छ । गाउँभन्दा माथि पानीको स्रोत नभएकाले लिफ्टिङ प्रविधिबाट पानी ल्याउनुपरेको वडाध्यक्ष रेशम जुग्जालीले बताए । ‘फेदीको पानी तानेर गाउँमा पुर्‍याउने योजनामा धेरैलाई विश्वास लागेको थिएन’, उनले भने, ‘तर, प्रविधिको विकासले सफल भयो ।’

बिम लिफ्ट खानेपानी आयोजनामा पानी तान्न जडान गरिएको सौर्य ऊर्जा । तस्बिर स् सन्तोष गौतम

सौर्य ऊर्जाको प्रयोगले फेदीमा रहेको बिबोट खोला र जुगे खोला मुहानको पानी २ सय ४० मिटर माथि ट्यांकीमा जम्मा गरिएको छ । त्यसबाटै वितरण गरिएको उपभोक्ता समिति अध्यक्ष धनबहादुर जुग्जालीले बताए । नौरु, तल्लोगाउँ र अस्तबाङका १ सय ११ घर, आठ विद्यालय तथा सार्वजनिक स्थानमा धारा जडान गरिएको उनले सुनाए ।

गाउँपालिका, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र उपभोक्ताको १ करोड ४३ लाख लागतमा आयोजना निर्माण भएको हो । २२ किलोवाट क्षमताका १ सय २० सोलार प्यानलमार्फत पम्प जडान गरी पानी तान्ने व्यवस्था मिलाइएको आयोजनाकी कमला शर्माले बताइन् । ‘सो उपकरणको पानी तान्ने क्षमता प्रतिसेकेन्ड २.५ लिटर छ’, उनले भनिन् ।

२ इन्टेक, ८ ट्यांकी, १ सय १९ धारा र ९ हजार मिटर पाइपलाइन छ । आयोजनामा उपभोक्ताले २७ लाख ६९ हजार रुपैयाँबराबरको श्रमदान गरेका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।