• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

देउवा नेतृत्वको सरकार चुक्दा रुकुम पूर्वमा तनाव, बुटवलबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी लगियो



रुकुम पूर्व । सदरमुकामको विषयलाई लिएर जारी आन्दोलनले उग्र रुप लिन थालेपछि रुकुम पूर्वमा कर्फु लागेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते अस्थायी सदरमुकामका रुपमा रहेको सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयलाई लिएर रुकुममा विवाद बढेको हो । विवाद बढ्दै गएपछि उक्त विवादले उग्र रुप लिएको हो ।

सरकारले नै निर्णय गरेपछि जिल्लाको स्थायी सदरमुकाम रुकुमकोटमा कि पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडा भन्ने विषयमा स्थानीयहरुमा अन्योल देखेपछि विवाद सृजना भएको हो ।

सरकारले निर्णय गरेको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि गोल्खाडावासीले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएका छन्।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुवै पक्षले भिडन्तको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र  बुटवलबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी ल्याइएको बताए।

प्रजिअ शर्माले भने, ‘दुवै पक्षको आन्दोलनका कारण तनाव उत्पन्न भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। हामीले बाहिरबाट थप प्रहरी बोलाएका छौँ । अब कुनै प्रकारको अप्रिय घटना हुन दिँदैनौँ।’

उनले भने, यो बिषय सरकारको बिषय हो । हामीले उक्त बिषयमा निर्णय लिन मिल्दैन् । हामीले उक्त बिषयलाई लिएर तनाव बढ्दा गत आइतबारदेखि निषेधाज्ञा जारी गरेका छौँ । र यो निषेधाज्ञा आजसम्म पनि जारी नै रहेको छ ।

प्रजिअ शर्माका अनुसार दुवै पक्षको सम्भावित भिडन्त रोक्न सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।