२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै छ भ्रष्टाचार शून्य गाउँ !



अ+ अ-

हुम्ला । भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन् ।

भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए । विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँमा एक रुपैयाँको पनि अनियमितता नहुने गरेको तामाङको दाबी छ । धार्मिक तथा सामाजिक मान्यता र विकासमा सबैको अपनत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना हुने गरेको छैन । बरु विकास निर्माणका लागि आएका रकमलाई कसरी बचाएर गुणस्तरीय काम गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुने गरेको लाक्पा तामाङको भनाइ छ ।

गाउँमा आएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैभन्दा पहिले सरोकारवाला सबैको अनिवार्य सहभागितामा विस्तृत छलफल गरिन्छ । त्यसपछि सो योजनाको कार्यान्वयनका लागि स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिन्छ र त्यसको अनुगमनमा समेत सबैको सहभागिता गराउने परिपाटीले लिमी शून्य भ्रष्टाचार गाउँ हुन पुगेको पेम्बा तामाङले बताए ।

परम्परागत धर्मशास्त्रको बन्धनमा बाँधिएर काम गर्ने र सरकारी नीतिभन्दा पनि आफ्नो गाउँको परम्पराअनुसार योजनाको सामूहिक लेखाजोखा गर्ने काम लागत इस्टिमेटअनुसार गर्ने भएकाले पनि सो गाउँ भ्रष्टाचार शून्य भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । यदि कहीँ कतै कसैले पनि रकम हिनामिना गरेको थाहा भएमा सामूहिक दण्ड र जरिमाना गर्ने भएकाले पनि सो गाउँमा भ्रष्टाचार र अनियमितता शून्य हुने गरेको अध्यक्ष लामाले बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।