१२ पुष २०८१, शुक्रबार
,
Latest
मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानघाट नहुँदा समस्या



अ+ अ-

बागलुङ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ ।

गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङबजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउनुपर्ने बाध्यता छ । चिहानघाट बनाउन जग्गा नपाइएको मुस्लिम समुदायका अगुवा रहमद हकिम मियाले बताउनुभयो । “वडा र नगरपालिकामा पटक–पटक माग राख्दा पनि कुनै सुुनवाइ भएको छैन,” उहाँले भन्नुभयो, “हामीलाई साह्रै समस्या छ ।”

उहाँका अनुसार अन्तिम संस्कारका लागि शव कालीगण्डकीमा ल्याउँदा हजारौँ खर्च हुन्छ । शवसहित मलामी पनि गाडीमा आउनुपर्दा बढी खर्चिलो हुने गरेको हो । सडक सुविधा नहुँदा दिनभर लगाएर बोकेर ल्याउनुपर्ने अवस्था थियो । गलकोटदेखि कालीगण्डकी नदी किनार ५० किमिको दूरीमा छ ।
जग्गाको खोजी भए पनि नपाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले सार्वजनिक जग्गाको खोजी भइरहेको छ भन्नुभयो ।

चिहानघाटलाई संवेदनशील मानिने भएकाले स्थानीय समुदायलाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ । बस्तीदेखि टाढा र स्थानीयवासीले अवरोध नगर्ने ठाउँमा जग्गा व्यवस्थापनको खाँचो देखिएको छ । अन्त्येष्टिको संस्कार भिन्न भएकाले पनि चिहानघाटलाई जग्गा प्राप्त गर्न सजिलो नभएको अन्य समुदायको बुझाइ छ । बागलुङ नगरपालिका–१२ अमलाचौरबाट झण्डै ३५ वर्षअघि व्यापारको सिलसिलामा मुस्लिम परिवार गलकोट पुगेका थिए ।

मुस्लिम समुदायका बालबालिकाले पढ्ने मदरसा पनि समस्यामा छ । जग्गा र भवन नहुँदा छाप्रोमा मदरसा चलाउनुपर्ने बाध्यता छ । नगरपालिकाले वार्षिक रुपमा अनुदान रकम उपलब्ध गराए पनि त्यो पर्याप्त छैन । भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापनमा समेत सघाउनुपर्ने मुस्लिम समुदायको माग छ ।