• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

अलमलमा राजपाः ‘पर्ख र हेरको नीति’



सिवी अधिकारी 

काठमाडौँ – ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । 

सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा मधेश केन्द्रीत दल कमजोर बन्न पुगेको होकी भन्ने अनुमान लगाउन थालिएको छ । 

मुलुकको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव पार्ने मधेश केन्द्रीत दल आफ्नै मुद्दामा एकताबद्ध हुन नसक्दा अलमल र पार्टीभित्रै दरार उत्पन्न भएको देखिन्छ । यद्यपि, नेताकै भनाइमा पार्टीमा बाहिर आएजस्तो सत्यता छैन । तर, पछिल्ला दिनमा दलगत र पार्टीभित्रकै नेताबीचको खटपट र अलमलले उनीहरुबीचको विवादलाई सतहमा ल्याएको छ । 

सञ्चारमाध्यममा पार्टीगत र सरकारसँगको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । सत्ता समर्थक राष्ट्रिय जनता पार्टी (राजपा) र सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपालबीच अहिले खटपट चलिरहेको छ । यता सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ । 

पार्टीभित्रको आन्तरिक द्वन्द्व र सरकारसँगको सम्बन्धलाई व्यवहारमा परिणत गर्न समाजवादी फोरममा पनि खटपट भइरहेको बताइन्छ । यता, सरकारलाई समर्थन गरेको राजपाले न त आफ्ना मुद्दालाई अघि बढाउन सक्यो न त सत्तायात्रामै सामेल हुनपुग्यो । यसरी राजपाभित्र अलमल र बेइमेल बढेको देखिन्छ । पार्टीभित्रकै विवादलाई किनारा लगाउन नसक्दा राजपा कमजोर बनेको छ । यसको असर सरकारसँगको सम्बन्ध र पार्टीले अख्तियार गरेको मुद्दामा समेत कमजोर हुने देखिन्छ । 

राजपाभित्र किन अलमल र खटपट भन्ने रासससँगको जिज्ञासामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा कुनै अलमल र बेइमेलमा नभइ बरु पर्ख र हेरको रणनीतिमा रहेको बताउनुभयो । 

“हामी पर्ख र हेरको अवस्थामा छौँ, सरकारलाई निरन्तर रुपमा घचघच्याईरहेका छौँ, मुद्दा सम्बोधन गर्नुस् नत्र विरोधको बाटोमा जानुपर्ने बाध्यता हुन्छ । तर, पर्खाइको पनि सीमा हुन्छ । धैर्यताको बाँध कुनै पनि बेला टुट्नसक्छ, त्यो अवस्था आउन नदिन सरकार बेलैमा सजक हुनुपर्छ,”–उहाँले भन्नुभयो । 

तपाइँहरु सरकारमा जान आतुर हुनुहुन्छ नी भन्ने जिज्ञासामा राजपाका नेता महतोले सरकारमा जान आफ्नो पार्टीलाई पटक–पटक सरकारी पक्षबाट आग्रह गरिएकै हो भन्नुभयो । उहाँले आशा र विश्वासका साथ दुई तिहाइको शक्तिशाली सरकारलाई समर्थन गरेकाले अझै पनि मुद्दा सम्बोधन हुने आशामै रहेको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, “हाम्रा सवाललाई सरकारले ध्यान दिनुपर्छ, निर्वाचित सांसद रेशम चौधरीले न्याय पाउनुपर्छ, आन्दोलनका क्रममा परेका बन्दीको रिहाइ र मुद्दा फिर्ता तथा संविधान संशोधनको विषय र आम जनताले उठाएको सवालमा सरकार गम्भीर हुनुपर्छ ।” 

नेता महतोले आम जनता र पार्टीले उठाएका सवाललाई सरकारले बेलैमा सम्बोधन नगरे समर्थन फिर्ता लिएर सङ्घर्षमा जानुपर्ने बाध्यात्मक अवस्था आउनसक्ने खतरा औंल्याउनुभयो । 

सरकारलाई समर्थन जारी रहन्छ 

राजपाले आफ्ना मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा जाने या नजाने विषयको टुङ्गो लाग्ने बताएको छ । नेता महतोले पार्टी आफ्नो मुद्दाको अडानमै रहेको भन्दै माग सम्बोधन भएपछि सरकारमा सभागिताको कुरा आउने बताउनुभयो । उहाँले सरकारमा सहभागी नभए पनि आफ्ना माग सम्बोधन भएमा सरकारलाई समर्थन भने जारी रहने प्रष्ट पार्नुभयो । 

“सरकारमा जाने अहिले त्यस्तो सोच, चिन्तन बनिसकेको छैन, मुद्दामा सरकारले तदारुपता देखाए सत्तायात्रा गौण विषय हो”, नेता महतोले भन्नुभयो । 

राजपाका संयोजक महेन्द्र राय यादवले आफ्नो मुद्दा सम्वोद्धनका लागि सरकारसँग आग्रह गरिरहेको र छिट्टै नै प्रधानमन्त्रीसँग पार्टीका अध्यक्ष मण्डलसँग भेट गरेर आफ्नो कुरा राखिने बताउनुभयो । 

पार्टीको महाधिवेशनको सङ्घारमा रहेको राजपाले पार्टीका गतिविधिका साथै सरकारसँगको विषयलाई पनिसँगै अघि बढाउने नीति लिएको छ । वैशाखको पहिलो साता पार्टीको महाधिवेशनको तयारीमा जुटेको राजपा अहिले पार्टीकै काममा बढी व्यस्त देखिन्छ । सरकारसँग उठाएको मुद्दा र पार्टीको महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने नीति राजपाको रहेको संयोजक यादवले बताउनुभयो । 

नेतृत्व महाधिवेशनले तय गर्छ 

पार्टी नेतृत्वबारे विभिन्न अडकलबाजी भइरहे पनि महाधिवेशनले नै राजपा नेतृत्वको टुङ्गो लगाउने नेता महतोको भनाइ छ । “पार्टीभित्र त्यस्तो केही विवाद छैन, बाहिर त्यतिकै हल्ला आइरहेको छ । यो चक्रिय प्रणाली आउँदाखेरी विवाद देखाइदियो । जुन प्रणाली वैधानिकताको सूत्र नै अध्यक्ष मण्डल थियो । त्यसलाई हामीले केही दिन टारेका थियौँ, कसैले अनावश्यक कुराले उचालेका कारण विवाद जस्तो देखियो । आफ्ना मुद्दामा संवेदनशील छौँ,”नेता महतोले भन्नुभयो । 

अधिकार प्राप्तिका लागि मधेशी, थारु, दलित, आदिवासी जनजातीले भिन्न भिन्न रुपमा आन्दोलन गरेपनि ती आन्दोलन र उठेका सवालले पूर्णता पाउन नसकेको उहाँको निष्कर्ष थियो । उहाँले मुलुकलाई निकास दिन बहुल राष्ट्रिय राजनीतिलाई आत्मसाथ गरी राज्यले समान अवसर र सहभागिताको व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । 

उल्लेखित मुद्दामा एकताबद्ध सङ्घर्ष भएमा मात्र राज्यलाई एकमुस्ट समाधान खोज्न सजिलो हुने उल्लेख गर्दै नेता महतोले यदि त्यसो नभए विगतको जस्तो एकअर्काको विरुद्धमा प्रयोग गर्ने र लडाउने अवस्था सिर्जना हुने चेतावनी दिनुभयो । 

मधेशी मुद्दामा फोरमसहित मधेशी शक्तिको कठोर सङ्घर्षकाबीच अघि बढेको अवस्थामा सबै कुरा छोडेर सत्तामा गएको राजपाको आरोप छ । “हिजो मुद्दामा सँगसँगै लडेका थियौँ । अहिले दुई तिहाइको शक्तिशाली सरकारसँग बाहिरबाटै माग सम्बोधन गर्न सकिने थियो । तर, सबै कुरा छोडेर तीन बुँदे सहमति गरी फोरम सरकारमा सहभागी भयो, यसले जनतालाई निराश बनाएको छ,”उहाँको भनाइ छ । 

विषयवस्तु जे जति आए पनि मुद्दामा मधेश केन्द्रीत दलबीच विभाजन नरहेको पनि नेता महतोको स्पष्टोक्ति थियो । फोरमका नेतासँग निरन्तर छलफल भइरहेको र अन्य राजनीतिक शक्तिसँग पनि छलफल चलिरहेको उहाँले बताउनुभयो । रासस