११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

एक मन्त्रालयमा २-२ सचिव, यस्तो भाँडभैलो

एक मन्त्रालयमा २-२ सचिव, यस्तो भाँडभैलो
अ अ+ अ-

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको किचलो भएको महिनौं भइसक्यो। प्रधानमन्त्री कार्यालय तानिएकी सचिव डा. पुष्पा चौधरी अदालत गुहार्न पुगिन्। उनको थमौती भयो। त्यसपछि मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अर्का सचिव केदारबहादुर अधिकारी मन्त्रालय पुगे। तर दुई जना सचिवले मिलेर काम गर्न सकेनन्। अधिकारीको सरुवा भयो। त्यसयता चन्द्रकुमार घिमिरेलाई उक्त मन्त्रालयमा सरुवा गरिएको छ। तर उनी कार्यभार सम्हाल्न पुगेका छैनन्।

यो समस्याबाट ग्रस्त मन्त्रालय स्वास्थ्य मात्रै होइन। सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर २१ बनायो। तर सचिवको दरबन्दी घटाउन सकेन। अहिले ५६ जना सचिव छन्। त्यसैले एउटै मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो। अहिले ६ वटा मन्त्रालयमा दुई जना सचिव छन्। तर दुई सचिव राख्दा मन्त्रालयमा कार्य सम्पादनमै असर पुगेको छ। काम, कर्तव्य र अधिकारमा द्वन्द्व सिर्जना भएको छ। एउटै ओहोदामा दुई व्यक्ति भएपछि हानथाप बढेको छ। एउटाले पूर्ण जिम्मेवारी पाउँदा अर्को सचिव जिम्मेवारविहीन हुने अवस्था छ। तल्लो तहका कर्मचारीले कसको निर्देशन र निर्णय मान्ने भन्ने समस्या पनि छ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयमा दुई÷दुई जना सचिव छन्। अझै केही मन्त्रालयमा दुई सचिव राख्ने चर्चा छ।

कर्मचारीमा अधिकार प्रत्यायोजन गर्न नचाहने, सामूहिक प्रयासमा विश्वास नगर्ने संस्कृति पनि छ। त्यसैले दुई जना सचिव हुनेबित्तिकै अख्तियारवाला को भन्नेमा विवाद हुने गरेको छ। मन्त्रीले समेत एउटा च्याप्ने र अर्को वास्ता नगर्ने परिपाटी छ। दुई सचिव हुँदा काम गर्ने वातावरण नै नबन्ने उनीहरू बताउँछन्। एक सचिवले नाम नबताउने सर्तमा भने, ‘कुनै पनि निर्णय कसले गर्ने भन्नेमै समस्या हुन्छ।’

यसअघि मुख्यसचिव डा. भोजराज घिमिरे हुँदा दुई सचिव राख्ने व्यवस्था गरिएको थियो। घिमिरे २०६३ साउन १९ गतेदेखि २०६६ साउन २१ सम्म मुख्य सचिव भएका थिए।

दुई सचिव राख्दा कार्यसम्पादन ह्रास भएपछि टोली बनाएर अध्ययन गरिएको थियो। त्यसपछि माधवप्रसाद घिमिरे मुख्य सचिव हुँदा दुई सचिव राख्ने व्यवस्था क्रमशः हटाइयो। उनी २०६६ साउन २२ देखि २०६९ साउन २१ गतेसम्म मुख्य सचिवको जिम्मेवारीमा रहे।

पूर्वसचिव हरिराम कोइराला दुई जना सचिव राख्नै नहुने बताउँछन्। ‘त्यसले मन्त्रालयको कार्यसम्पादन घटाउँछ,’ उनले भने, ‘दुई सचिव राखेर सुशासन र समृद्धि आउँदैन। कसैलाई जागिर खुवाउनको लागि मात्र हो भने राम्रो होला।’

उनी विगतका अभ्यासमा पनि दुई सचिव राख्ने निर्णय सफल नभएपछि हटाइएको स्मरण गर्छन्। दुई सचिव राखेर मुलुकलाई कुनै फाइदा नहुने उनको तर्क छ। तिनलाई फरक जिम्मेवारी दिएपनि काममा ‘डुप्लिकेसन’ हुने उनले बताए।