२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी बोकेर काठमाडौं पुर्‍याउने वाइबाको निधन



अ+ अ-

हेटौडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका-५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा । दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडौं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् ।

वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई ढ्याङग्रो ठोकेर झारफुक गरेर पठाउँथे । हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिन्थे । युवा अवस्थामा उनका काँधमा गाडीको नोल बस्थ्यो, पछि ढ्याङग्रो बस्ने गरेको थियो । धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए । वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए ।

पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८/८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्‍याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए । दुई रुपैयाँ घरमा बुझाउँदा सबै खुसी भएको घटना उनले तीन वर्षअघि सञ्चारकर्मीलाई हाँसी हाँसी सुनाएका थिए । गाडी बोक्दा परालको चप्पल लगाउने बानी परेका वाइबालाई अरू खालका चप्पल र जुत्ता लगाउँदा असजिलो हुने गरेकाले उनी गाउँमा जुत्ताचप्पल लगाउँदैनथे ।

नातिले बजारबाट किनेर ल्याएको प्लास्टिकको चप्पल लगाउँदा वाइबा आँगनमै लडेका थिए । त्यसपछि उनले प्लास्टिकको चप्पल लगाएनन् । परालको चप्पल बुनेर लगाउनलाई नातिहरूले दिएनन् । त्यसैले उनी नाङ्गै खुट्टा हिँडे । गाडी बोक्दा चिप्लिनेडरले सबै भरिया परालको चप्पल लगाउने गर्थे । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।