१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डकी राजकुमारी उबोलरतनाद्धारा क्षमायाचना



अ+ अ-

बैंकक । थाइल्यान्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेकी छन् ।

६७ वर्षीया उबोलरतनाले शाही परिवारको सदस्य रहेकै बेला ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिनअघि उम्मेदवारीको घोषणा गरेकी थिइन् । त्यसको केही घण्टा पनि नबित्दै उनका भाइ तथा थाइल्यान्डका राजा महावाजिरालोङकोर्नले आपत्ति जनाएका थिए । राजाले राजपरिवारका सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुन नमिल्ने धारणा राखेका थिए ।

राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यताविपरीत हुने राजाको भनाइ थियो ।

राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ । सिनावात्रालाई सन् २००६ मा सैनिक कूबाट पदच्युत गरिएको थियो ।

तर सन् २०१४ मा उनकी बहिनी यिङलक सिनावात्राको सत्तामा पुनरागमन भएको थियो । यिङलकलाई पनि भ्रष्टाचार आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो । उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट थाई रक्षा चार्ट पार्टी सञ्चालन गरिरहेकी छन् । थाइल्यान्डमा आउँदो मार्च २४ मा आम निर्वाचन घोषणा गरिएको छ ।