३ मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध



अ+ अ-

बाँके । उहाँलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्नुहुन्छ । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४८ वर्षीय श्याम नेपाल आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुनुहुन्छ ।

साथीभाइसँग सहजै निकटता बनाउनसक्ने उहाँको खुबी हो । उहाँ नयाँ साथीसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्याम यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा फोन गरेर अन्तरक्रिया गरिरहनुहुन्छ ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाउनुभएको छ । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उहाँको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उहाँले ‘मितिनी’को नाता गाँस्नुभयो ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियोमोह पनि उस्तै छ । उहाँ पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहनुहुन्छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी स्नातकसम्मको पढाइ पूरा गर्नुभएकी २९ वर्षीया श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिनुहुन्छ । सामाजिक विभेदविरुद्धका अभियानमा उहाँको सहभागिता छुट्दैन । गाउँ, समाजमा हुने विभिन्न विभेद विरुद्धका अभियानकर्मीका रुपमा परिचय बनाउनुभएकी श्यामकुमारी सोच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्नुहुन्छ ।

श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करीब १९ वर्ष छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन संवाद गरिरहनुहुन्थ्यो । रेडियोमा हुने फोन संवादले श्याम र श्यामकुमारीलाई नजिक बनायो र अन्ततः उहाँहरुले मितेरी लगाउनुभयो ।

सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ । रेडियोका कार्यक्रममा हुने फोन संवादले उहाँहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरु दुवैका परिवारलाई एउटै परिवारजस्तो बनाइदिएको छ, अर्थात् दुवै परिवार एक भएजस्तो बनाइदिएको छ ।

“नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भयो”, उहाँहरु भन्नुहुन्छ, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ । यो सम्बन्ध पारिवारिक रूपमा पनि निकट भयो ।” उहाँहरु आफूलाई भाग्यमानी ठान्नुहुन्छ । सबैले समान लिङ्गबीच मितेरी लगाउँछन्, तर उहाँहरुबीचको मितेरीको सम्बन्ध बिल्कुलै नौलो छ ।

श्याम भन्नुहुन्छ, “रेडियोमा नाम सुनँे, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाएँ । केहीले शङ्का गरे । मैले त्यो शङ्कालाई प्रष्ट्याएँ । हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उहाँहरु खुशी व्यक्त गर्नुहुन्छ ।

श्यामकुमारी भन्नुहुन्छ, “सकारात्मकरूपमा हामी दुई परिवार एक भएका छौँ । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिकरूपमा एउटा परिवार भएका छौँ । महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।”

नकारात्मक विकारले भरिएका सोचहरुले अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ, हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रूपमा मानिरहेकी छु ।”