• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

गाँजाखेती गराएर भारतीय तस्कर कमाउँदै, प्रहरी स्थानीयवासीलाई समाउँदै



चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भन्नुभयो,“गाउँगाउँमा कहिलेकाहीँ तस्कर– तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करहरुले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताउनुभयो ।

चेपाङ समुदायको बाहुल्य रहेको यहाँ ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ । बरालका अनुसार गाँजा खेतीबाट पैसा पाउने भएपछि सर्वसाधारणले स्थानीय सरकारको भन्दा तस्करका कुरा बढी सुन्ने गरेको पाइएको छ । उनीहरुलाई गाँजाखेती गर्न छुटाउनका लागि गरीबी निवारण मन्त्रालय र जिल्ला सहकारी सङ्घसँग नगरपालिकाले मिलेर तरकारी, बाख्रा, मौरी र कुखुरापालन गर्न सहयोग गरेको छ । सोही ठाउँमा तरकारी सङ्कलन केन्द्र समेत सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताउनुभयो । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उहाँले बताउनुभयो ।

गाँजाखेती गर्नेहरुले कुन्यू लगाएर राखेको अवस्थामा नष्ट गरिएको उहाँले बताउनुभयो । राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीय परिचालन गरी गाँजाखेती गर्दै आएको बताउनुभयो ।

भारतीय तस्करले सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङ्ले बताउनुभयो । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उहाँले बताउनुभयो । गाँजा तयार भएपछि चेपाङलाई नै भरिया बनाएर मनहरि, लोथर बजार झार्ने गरेको पाइएको छ । उक्त गाँजा कतिपय नेपाली बजार र केही भारतीय बजारमा पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।