• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

‘पहिले कौतुहल, अनि डर र पछि मजा ’, छुटै खुशी छ यसमा



काठमाडौँ । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प्रालिका सञ्चालक नीरज पन्तले बताए ।

विगतमा उडान भए पनि रोकिँदै आएको यहाँ नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै डिसेम्बर अन्तिम सातादेखि नियमित उडान शुरु भएको उनले बताए । अहिले एक हप्तासम्मका लागि ‘बुक’ हुने गरेको उहाँको जिकिर छ । साहसिक खेल (प्याराग्लाइडिङ) का पारखी उपत्यकावासीलाई यसको मजा लिन अब पोखरा धाइरहनु पर्दैन ।

हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकै साथ हेर्न पाउँदा खुशी अनुभूति भएको पहिलो पटक प्याराग्लाइडिङको मजा लिनुभएका काठमाडौँ असनका सुनिल श्रेष्ठले बताए । गुगलबाट खोज्दा गोदावरीमा प्याराग्लाइडिङ हुन्छ भन्ने थाहा पाएर आएको उनको भनाइ थियो ।

“पहिले कौतुहल थियो, उड्ने बेलामा डर फिलिङस भो, उडेपछि मजा”, श्रेष्ठले भने । पत्नी प्रीति राजभण्डारी सँगै जानु भए पनि उहाँ एक्लै उड्नुभयो । डेढ दशकअघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यसले सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ ।

यहाँ प्याराग्लाइडिङ सञ्चालन गर्न रु तीन करोड लगानी लागेको सञ्चालक पन्तले बताउनुभयो । यहाँ जनवरीदेखि अहिलेसम्म ३०० उडान भइसकेको छ । आज मात्रै तीन उडान भएको छ । एउटा उडान उडेकै ठाउँमा अवतरण भएको थियो भने दुई उडान तल रचनटारमा अवतरण भएको थियो ।

सन् २००७ मा राजनीतिकर्मी केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थाप्नुभएको थियो । सन् २०११ देखि १४ सम्म सञ्चालनमा आए पनि भूकम्पपछि उडान हुन नसकेकाले यहाँ नयाँ व्यवस्थापनमा पुनः सञ्चालन गरिएको हो । कोरियाली च्याङजिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नले यसमा लगानी गरेका छन् । पाइलट विजय चौलागाईंले चापाखर्कको छुट्टै विशेषता रहेको उल्लेख गर्नुभयो । यहाँको उडान क्षमता दिनमा २५ छ । छ ग्लाइडरले सेवा दिन्छ । शनिबारका पाँच उडानका लागि बुक भएको काठमाडौँ प्याराग्लाइडिङ प्रालिले जनाएको छ ।

समुद्र सतहबाट दुई हजार १०० मिटरमाथि गोदावरीको चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर रोकिन्छ । पोखरामा एक हजार ६०० उचाइबाट मात्रै उडान हुने गर्छ । गोदावरीबाट झण्डै पाँच किमी जङ्गलको कच्ची बाटो उकालो लागेपछि चापाखर्क पुगिन्छ । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको वेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिने वा कहिले नहुन पनि सक्ने अर्का पाइलट बबी राउतले बताए।

काठमाडौँ आउने–जाने यातायात र फोटो भिडियोसहित रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी छ हजार ५०० मा उडान भइरहेको छ । यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यका, स्वच्छ हावापानी, रोमाञ्चक दृश्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सक्नु हो ।